PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

लाप्राकमा नमूना बस्ती बनाउन गैर आवासीय नेपालीलाई प्राधिकरणको आग्रह



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खा जिल्लाको लाप्राकमा लाप्राक नमूना बस्ती विकास दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी काम अघि बढाउन गैरआवासीय नेपाली संघलाई अनुरोध गरेको छ। कार्यक्रम स्वीकृति सम्बन्धमा संघलाई पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराई समयमा काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण कार्य प्रारम्भ गर्न पनि अनुरोध गरेको हो।

भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गते लाप्राकमा नमूना बस्ती विकासका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता भएको थियो।

प्राधिकरणले लाप्राक गाविसका सबै लाभग्राहीहरुलाई गैरआवासीय नेपाली संघबाट आवास अनुदान उपलब्ध गराइने हुँदा जिल्ला विकास समिति गोर्खाबाट लाभग्राहीको सूची भिडान गराई दोहोरो अनुदान नजाने व्यवस्थाका लागि निर्देशन हुन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई अनुरोध गरेको छ।

प्रस्ताविक नमूना बस्तीका लागि खानेपानीको स्रोत पहिचान गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गरी एलएमबिआइएस (बजेट तथा कार्यक्रम कम्प्युटरमा प्रवेश गराउने) मा प्रविष्टि गराई प्राधिकरणमा आउने व्यवस्था हुन पनि खानेपानी तथा सरसफाई मन्त्रालयलाई आग्रह गरेको छ ।

जिल्लास्तरमा आवश्यक समन्वय गरी नमूना बस्ती विकास कार्यक्रम शीघ्रताका साथ अगाडि बढाउने व्यवस्थाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गोरखास्थित उपक्षेत्रीय कार्यालय र नमूना बस्तीमा विद्युतीकरणका लागि आवश्यक व्यवस्था हुन प्राधिकरणले उर्जा मन्त्रालयलाई आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell