PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​कांग्रेसका सांसद सरकार परिवर्तनको मूडमा



रमेश वाग्ले

​कांग्रेसका सांसद सरकार परिवर्तनको मूडमा

  • रमेश वाग्ले-
काठमाडौँ : संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांसदहरुले वर्तमान सरकारको विकल्प खोज्ने मूडमा देखिएका छन्। सभापति शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित भएपछि सोमबार सुरु भएको पहिलो बैठकमा बोल्ने अधिकांश सांसद्ले सरकार परिवर्तन आवश्यक भएकोमा जोड दिए। 

सरकार परिवर्तनका विषयमा बोल्ने अधिकांश सांसद कांग्रेसभित्रको शेरबहादुर देउवा गुटका हुन्।
 
कांग्रेस नेता बालकृष्ण खाँडले सत्ता गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै यो सरकार जति लम्बियो, संविधान कार्यान्वयनको संभावना त्यति नै घट्दै जाने बताए। उनले देशका लागि घातक सरकार तत्काल परिवर्तन आवश्यक हुने बताए।
 
'देशका लागि नै अहितकर भएकाले तत्काल सरकार परिवर्तनमा लाग्न आवश्यक छ' खाँडको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'यो सरकार घोर दक्षिणपन्थ र उग्र वामपन्थीको अप्राकृतिक गठबन्धन हो।' 

उनले यस्तो अराजनीतिक र अप्राकृतिक गठबन्धन राख्नु देशका लागि हितकर नभएको बताए। 

खाँडले सत्ता गठबन्धनका केही नेताको नाम नै उल्लेख गरेर संविधान विरोधीहरुको झुण्ड नै वर्तमान सरकार भएको बताए। 

'विजय गच्छदार यो संविधानको कुनै प्रकियामा थिएनन्, अहिले सरकारमा उपप्रधामन्त्री छन्। कमल थापा सरकारमै बसेर यो संविधान असफल पार्छु भन्दै छन्' खाँडको भनाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, 'चित्रबहादुर केसी संविधानको संघीयतासम्बन्धी व्यवस्थाको खिल्ली सरकारको उपप्रधानमन्त्रीको कुर्सीबाट नै गरिरहेका छन्, त्यसैले यो सरकार जति समय राख्यो त्यति नै देशलाई घाटा हुन्छ।'

उनले 'झन् बजेट ल्यायो भने यो सरकारले देशमा अराजकता निम्त्याउन लाग्न सक्छ' भन्दै आफ्नै नेतृत्वलाई चेतावनी दिए। पहिलो पटक बैठकमा बोलेका खाँडले बैठकलाई नै सरकारको आलोचनामा उभ्याउन सफल भए। 

केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने भन्दै सत्ता गठबन्धनका दलको कटु आलोचना गर्न नहुने बताए। 'सरकार देशका लागि घातक भएको यथार्थ हो, सरकारमा सहभगीहरुकै कारण महंगी र कालोबजारी पनि फस्टाएको छ' विश्वकर्माले भने, 'हामी सरकार परिवर्तन मात्र नभएर राष्ट्रिय सहमतिको सरकारको कुरा गरिरहेका छौ, राष्ट्रिय सहमतिको सरकारको आवश्यकता स्थापित गरौँ, तर दलहरु प्रतिको कटु आलोचना र आक्षेप बन्द गरौँ।' 

उनले अहिले प्रतिपक्षको भूमिका मजबुत पार्दै सरकारको औचित्यमा प्रश्न उठाउने र सरकार परिवर्तनमा सबैलाई तयार पार्नुपर्ने बताए। 

बैठकमा सांसदहरु भिष्मराज आङदम्वे, महेन्द्र यादव, भरत खड्का लगायतले पनि सरकार परिवर्तनको वातावरण बनाउन लाग्नुपर्ने बताएका थिए।

आजको बैठकमा नबोलेका सांसद डा प्रकाशरण महतले सरकार परिवर्तन आवस्यक भएपनि हतार गरेर मात्र नहुने बताए। 'यो सरकार कि त सुध्रन पर्यो, कि त हटन पर्यो भन्ने आम सांसद्हरुबाट आएको छ। त्यो कुरा हामीले संसदमै स्थापित गर्नुपर्छ, अनि मात्र न सरकार परिवर्तनको कुरा आउँछ।' 

उनले पहिला जनमत सिर्जना गरेर बहुमत सांसदहरुलाई सहमत गरेपछि मात्र सरकार परिवर्तनमा लाग्ने बताए। 

'दलको बैठकबाट प्रस्ताव पारित गरेर संसदमा प्रतिपक्षको भूमिका स्पष्ट पार्छो अनि मात्र सरकार परिवर्तन गर्ने नगर्ने निर्णयमा पुग्छौँ।'
 
बजेटअघि सरकार परिवर्तन हुन्छ?

महतले भने, 'यो सरकारको एटिच्युडमा भर पर्छ, उसले अरु दललाई कसरी सम्वोधन गर्छ कस्तो नीति कार्यक्रम ल्याउँछ, पूर्वबजेट छलफल गर्छ कि गर्दैन, त्यसमा नै उसको आयु निर्धारण हुन्छ।'
 
उनले कांग्रेसले सरकारका गतिविधि राष्ट्रहित विपरित नै भएको भन्दै सूक्ष्म मूल्यांकन सुरु गरेको बताए। 

'अहिलेसम्म सरकारका कामले सन्तुष्ट हुने कुनै ठाउँ छैन, भविस्यमा पनि सन्तुष्ट हुने अपेक्षा पनि छैन' उनले भने 'तर शंकाको सुविधा अझै सरकारले पाउँछ कसरी काम गर्छ त्यसकै आधारमा उसले आफ्नो आयु निर्धारण गर्छ, तर प्रस्ट कुरा के हो भने यो सरकार रहिरहनु देशका लागि हितकर छैन।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell