PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वास्तु नमिलेकोले कांग्रेस कार्यालयभित्र तोडफोड, देउवाका लागि बन्दैछ नयाँ भिआइपी कार्यकक्ष



रमेश वाग्ले

वास्तु नमिलेकोले कांग्रेस कार्यालयभित्र तोडफोड, देउवाका लागि बन्दैछ नयाँ भिआइपी कार्यकक्ष

  • रमेश वाग्ले -
काठमाडौँ : नेपाली कांग्रेसको सभापति निर्वाचित भएको महिना दिन नाघिसक्दा पनि शेरबहादुर देउवा सानेपास्थित केन्द्रीय कार्यालयमा रहेको सभापतिको कुर्सीमा गएर बसेनन्। आफ्नो पुरानो कार्यकक्षमा नै उनले कार्यभार ग्रहण गरे।
 
पुरानो कार्यकक्ष वास्तुशास्त्र अनुसार उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सभापति शेरबहादुर देउवालाई उनका आध्यात्मिक सहयोगी तथा वास्तुविद् डाक्टर माधवमंगल जोशीले सुझाव दिएका थिए। 

त्यसैले अहिले उनका लागि भव्य भीआइपी कार्यकक्षको निर्माण चल्दैछ। 

पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइराला बसेको कार्यकक्षको सम्मुख रहेको ढोकाबाट देउवाको कार्यकक्षको प्रवेशद्वार बन्दैछ। 


 

देउवालाई भेट्न तीन चरण पार गर्नुपर्ने

पार्टी कार्यालयको पहिलो तल्लामा विगतमा तीन कार्यकक्ष रहेका कोठा तोडेर सभापति देउवाले आलिसान कार्यकक्ष निर्माण गर्दैछन्। 

एक ठाउँबाट प्रवेश गरेर तीन चरण पार गरेपछि मात्र सबैभन्दा भित्र सभापति देउवा बस्ने कार्यकक्षमा पुगिनेछ। सभापतिका लागि बाथरुमको व्यवस्था पनि भित्र नै गरिएको छ। त्यसभन्दा बाहिर सभापति देउवाका पिए बस्नेछन्। जसले सभापतिलाई भेट्न चाहनेको आवश्यकता हेरेर कार्यकक्षसम्म जान पाउने वा नपाउने टुंगो गर्नेछ। 

त्यसभन्दा बाहिर सभापतिलाई भेट्न चाहनेहरुका लागि वेटिङरुमको रुपमा उपयोग गरिने छ। त्यसकै साइडमा रहेको छ मुख्य सचिवको कार्यकक्ष, जहाँ कार्यकर्ताले मुख्य सचिव भेटन चाहेमा मुख्यसचिवको अगाडिको ढोका प्रयोग गर्छन्। तर मुख्य सचिवले सभापतिलाई भेट्नु वा ब्रिफिङ गर्नुपरेमा पछाडिको ढोकाबाट नै सभापतिको कार्यकक्ष प्रयोग गर्न सक्छन्।

माथि कोही बस्दा उसको ग्रहले किच्ने डर

विगतमा मनोनीत महामन्त्रीको कार्यकक्ष रहेको अहिले देउवाको कार्यकक्षको सिधा माथि बनाइएको कार्यकक्ष पनि खाली गरिएको छ। वास्तुविद् जोशीले नै सभापतिभन्दा माथि कसैको कार्यकक्ष राख्यो भने उसको ग्रहले किच्ने बताएपछि त्यो ठाउँलाई सभापतिको शयन कक्षका रुपमा उपयोग गर्न खाली गरिएको हो।

कसले बनायो सभापतिको कार्यकक्ष?

सभापति देउवाका लागि आलिसान कार्यकक्ष देउवाले नै मनोनीत गरेर सांसद बनाएका उमेश श्रेष्ठले डिजाइन गरेका हुन्। निजी विद्यालयहरुको संगठन प्याव्सनका पूर्वअध्यक्ष र हिसानको अध्यक्षसमेत रहेका श्रेष्ठ संविधानसभाको विज्ञ मनोनित हुने कोटामा नियुक्त भएर अहिले रुपान्तरित संसदमा सांसद छन्।

सांसद् श्रेष्ठले कांग्रेसको ठूलो कार्यालय भएर पनि सभापतिको साँघुरो कार्यकक्ष देखेर आफूले सहयोग गर्न लागेको बताए। 

'मैले कुनै ठूलो काम गर्न लागेको होइन, सभापतिको कार्यकक्षलाई अलि व्यवस्थित गरौँ भनेर सानो काम थालेको मात्र हो,' उनले भने, 'सभापतिको कार्यकक्ष र तीन वटा हललाई व्यवस्थित गर्न काम थालेको हो।' 

श्रेष्ठले ५० जनाको, १०० जनाको र २०० जनाको क्षमता भएका तीनवटा हल व्यवस्थित गर्न लागेको भन्दै त्यसमध्ये एक हलमा मात्र साउण्ड प्रुफ राख्न लागेको बताए। 

'साउण्ड इन्जिनियरको सिफारिस अनुसार अन्य हलमा साउण्ड प्रुफ आवश्यक हुँदैन। त्यसैले ठूलो हलका लागि मात्र साउण्ड प्रुफ राख्न लागेका हौ' श्रेष्ठले भने।   

आफ्नै कार्यकक्ष तोडफोड हुँदामात्र थाहा पाए मुख्य सचिवले

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको व्यवस्थापन/रेखदेखको जिम्मा मुख्य सचिवको हो। कांग्रेसको विधानले नै त्यो व्वस्था गरेको छ। तर सभापतिको कार्यकक्ष निर्माण हुँदै गरेको कुरा मुख्य सचिव ऋषिकेश तिवारीले त्यतिबेला थाहा पाए, जतिबेला उनको कार्यकक्ष नै तोडियो र कार्यकक्ष नै सार्ने अवस्था आयो। 

वास्तुविद्को सुझाव मान्न तयार भएका देउवालाई सोधेर सिधै कार्यकक्ष निर्माणका लागि कामदार लगेर महामन्त्री कोषाध्यक्ष र मुख्यसचिवको कार्यकक्ष तोडन थालेपछि मात्र पार्टी कार्यलयका मुख्य सचिव ऋषिकेश तिवारीले थाहा पाएका थिए। 

पछि मुख्य सचिवले चासो राखेपछि मात्र श्रेष्ठले काम गर्न खोज्दा अन्जानमा गल्ति हुन गएको स्वीकार गर्दै मुख्य सचिवसँग क्षमा मागेका थिए। 
मुख्य सचिव फेर्न त्यसो भएको हो त?

नेपाली कांग्रेसमा मुख्य सचिव पार्टी सभापतिले इच्छाएको व्यक्ति मात्र बन्न सक्छ। सभापतिले नचाहेका दिन मुख्य सचिवले हट्नु पर्छ। वर्तमान मुख्य सचिव ऋषिकेश तिवारी पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले २०७१ वैशाखमा नियुक्त गरेका व्यक्ति हुन्। अघिल्लो सभापतिले नियुक्त गरेका मुख्य सचिवले राजिनामा नदिएकाले उनको कार्यकक्ष सारेको थाहा नपाएका हुन् त?

कुरा त्यसो होइन। मुख्य सचिव ऋषिकेश तिवारी देउवाले काम गर भनेका कारण मात्र आफूले राजिनामा नदिएको बताउँछन्। उनले सभापतिले नचाहेमा मुख्य सचिव बस्नै नसक्ने भन्दै 'सभापतिले इच्छा व्यक्त गरेकै दिन' आफू हट्ने बताए।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell