PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

अट्याकिङ मुभमा कांग्रेसले भन्यो : राजनीतिकरण, भष्टाचार र कालोबजारीमा लिप्त भयो सरकार



पहिलोपोस्ट

अट्याकिङ मुभमा कांग्रेसले भन्यो : राजनीतिकरण, भष्टाचार र कालोबजारीमा लिप्त भयो सरकार

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार राज्य संरचनामा राजनीतिकरणमा सक्रिय रहेको आरोप लगाएको छ। बैठकले ओली नेतृत्वको सरकार भ्रष्टाचार र कालोबजारीलाई संस्थागत गर्नमै भुलेको भन्दै जनतासँग सरोकार राख्ने विषयबाट पन्छिएको समेत आरोप लगाएको छ।

बैठकले मुलुकभित्रको राजनीतिक समस्या समाधान गर्न असफल भएको र कुटनीतिक पहलमा समेत ‘फेल’ भएको ठहर गरेको छ।

‘संविधान जारी भएको लामो समय बितिसकेको र संविधान कार्यान्वयन गर्ने समय कम हुँदै गएको अवस्था प्रति वर्तमान ओली सरकार गम्भीर देखिएको छैन,’ संसदीय दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मधेसमा उठेका सीमाङ्कन लगायतका मुद्दाहरु हल गर्ने विषयले गति नलिएको प्रति हाम्रो गम्भीर ध्यान गएको छ।‘
 
कांग्रेस संसदीय दलले वार्ता मार्फत् समस्याको सम्बोधन गरी संविधान कार्यान्वयनको प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै यसका लागि नेतृत्वलाई वार्ता प्रक्रियाको अगुवाई गर्न पनि अनुरोध गरेको छ।
 

यस्तो छन् कांग्रेसका आरोप

  • वर्तमान सरकार जनताका समस्या र आवश्यकताहरु प्रति उदासिन

  • राज्य संरचनाहरुमा राजनीतिकरण गर्न उद्धत

  • भ्रष्टाचार, कालोबजारी तथा कृत्रिम अभावलाई संस्थागत गर्न सहयोगी

  • भूकम्प पीडित जनताका दुःखकष्ट र पुनर्निर्माण प्रक्रियालाई समेत राजनीतिकरण गर्न अग्रसर

  • सरकार विदेश नीतिमा पनि असफल
     

‘काममा होइन कुरामा विश्वास गर्छ ओली सरकार’

कांग्रेसले ओली नेतृत्वको सरकार काममा भन्दा कुरामा विश्वास गर्ने भन्दै गम्भीर आरोप लगाएको छ। बैठकको निर्णयमा भनिएको छ, ‘हुलाकी मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल र काठमाडौं–निजगढ फास्ट ट्र्याक लगायत देशभरि हुनुपर्ने विकास निर्माणका काम अगाडि बढ्न नसकेको र यो सरकार कामभन्दा ज्यादा कुरामा विश्वास गर्दछ भन्ने निष्कर्षमा आम जनता पुगेका छन्।‘

साथै नेपालको राष्ट्रिय स्वार्थको विषयमा प्रष्ट दृष्टिकोण राख्न नसकेको आरोप लगाएको छ। ‘संविधानसभाले जारी गरेको संविधानका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा भएको टिका–टिप्पणीले मित्रराष्ट्रहरुलाई विश्वासमा लिन नसकेको पुष्टि गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।‘

के गर्छ त कांग्रेसले ?

सरकारविरुद्ध कडा आरोप लगाएको नेपाली कांग्रेसले संसदमा यी विषयहरुलाई उठाउने जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा ४४ सांसदहरुले बोलेका थिए। उनीहरुले ‘जनताका दैनिक सरोकारका विषयमा पनि संसदीय दल आउँदो व्यवस्थापिका–संसदको बैठकमा गम्भीर रुपमा प्रस्तुत हुने’ निर्णय गरेका छन्।

कांग्रेसका यस्ता छन् माग

सरकारको भूमिकाको निन्दा गरेको कांग्रेसको संसदीय दलको बैठकले ओली सरकारसँग आफ्ना मागहरुसमेत पेश गरेको छ। बैठकले निर्णय गरेर प्रस्तुत गरेका माग यस्ता छन् :
  • भूकम्प पीडित जनताहरुको सुरक्षित र दिगो बासको व्यवस्थापन राजनीतिक पूर्वाग्रहविना तत्काल आगाडि बढाउन संसदीय दलको बैठक माग गर्दछ।

  • सीमामा रहेको अवरोध समाप्त भएको महिनौ भइसक्दा पनि ग्यास, डिजेल, पेट्रोल र मट्टितेलको कृत्रिम अभाव तथा कालोबजारी तत्काल समाप्त पार्न सरकारसँग माग गर्दछ।

  • देशभर बढ्दो डढेलो तथा आगलागी नियन्त्रण तथा धनजनको क्षतिपूर्तिका लागि तत्काल राहत र उद्धार गर्न पनि यो बैठक सरकारसँग माग गर्दछ।

  • लामो समयदेखि देशको विभिन्न ठाउँमा आएको बाढी र पहिरोबाट पीडित जनताहरुको पुनःस्थापना अझै नभएको गुनासो आइरहेको छ। पीडितहरुको पुनःस्थापना तत्काल अगाडि बढाउन सरकार समक्ष माग गर्दछ।

  • न्यायपालिका, कुटनीतिक तथा राज्यका अन्य संरचनाहरुमा तीब्र राजनीतिकरण रोक्न सरकारसँग जोडदार माग गर्दछ।

  • महत्वपूर्ण राजनीतिक र जनचासोको मुद्दाहरुमा प्रमुख विपक्षी दललाई विश्वासमा नलिई अगाडि बढ्ने सरकारी प्रवृत्तिको तत्काल अन्त्यको माग गर्दछ।

  • हुम्ला जिल्लामा रुघाखोकी महामारीबाट बीस जनाको ज्यान गइसकेको र ३÷४ हजार मानिस बिरामी परिरहेको अवस्थामा पनि सरकारको त्यसप्रति ध्यान नगएकाले तत्काल राहत र उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ।

  • आगामी बजेट जनताका आवश्यकताहरुमा केन्द्रित हुनुपर्ने, देशको दिगो विकास निर्माणप्रति प्रतिबद्ध रहनुपर्ने र जनताको पसिनाबाट आर्जित राजश्वको विनियोजन पार्टीमुखि र सस्तो प्रचारमुखि हुन नहुने प्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ।

  • दुई वर्षदेखि तराईका उखु किसानले चिनी मिलबाट रकम भुक्तानी नपाएकोमा यो बैठक उक्त बक्यौता रकम किसानलाई अविलम्ब भुक्तानी दिन सरकारसँग माग गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell