PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

समातेको भोलिपल्टै रोवर्ट पिनरलाई'भोलन्टियर डिपार्चर'



पहिलोपोस्ट

समातेको भोलिपल्टै रोवर्ट पिनरलाई'भोलन्टियर डिपार्चर'

काठमाडौं : सामाजिक सञ्जालमा सक्रिय रहँदै नेपालको आन्तरिक मामिलामा ‘टिप्पणी’ गरेको आरोप खेपेका क्यानडाली नागरिक रोवर्ट पिनरलाई ‘भोलन्टियर डिपार्चर’ हुन अध्यागमनले निर्देशन दिएको छ। उनलाई ‘देश निकाला’ नगरी सम्मानजनक रुपमा नेपाल छाड्न निर्देशन दिएको हो।

अध्यागमनको यो निर्देशनसँगै नेपालमा रहेर काम गर्न पाउने ‘वर्किङ’ भिसा पाएका पिनरको भिसा खोसिएको छ। पक्राउ परेलगत्तै माइक्रो ब्लगिङ साइट ट्विटर चलाउँदै ‘गिरफ्तार भएको’ जानकारी दिएका उनको पक्राउ प्रकरण तत्कालै अन्तर्राष्ट्रियकरण भएको थियो।

’१२/१५ जना मानिस मर्दा वास्ता नगर्ने विदेशी मिडियाले भयंकर चासो राख्न थाले,’ उनको अनुसन्धानमा जुटेका एक सरकारी अधिकारीले पहिलोपोस्टसित भने, ‘मिडियामा धेरै उचालिएकाले उसलाई स्वयम् देश छाडेर जान भन्यौं, निस्कासित नै भने गरिएन्।’

अनुसन्धानसँग जोडिएका ती अधिकारीले ‘निस्कासन’ गरेको नभने पनि उनलाई देश निकाला नै गरिएको हो। साथै राजनीतिक तहमा उनको गिरफ्तारीले चर्चा पाउनुअघि अथवा अदालतमा जाने सम्भावनालाई हेर्दै अध्यागमनले समातेको भोलिपल्टै ‘र्‍यापिड डिसिजन’ गरेको देखिन्छ।
 

दोष के हो त उनको ?

सामाजिक सञ्जालमा मधेस आन्दोलनलाई उछाल्ने गरी अभिव्यक्ति दिँदै आएका उनलाई ट्विट गरेकै भरमा ‘देश निकाला’ गरिएको हो त? सामाजिक सञ्जालमा यसबारे चर्का बहसहरु पनि भए। केहीले ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता नेपालीका लागि मात्र हो विदेशीका लागि होइन’ सम्म भने।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले उनका गतिविधि राज्यविरुद्ध भएको देखिएकाले यस्तो निर्णय भएको जानकारी दिए।

'उहाँका सबै गतिविधिलाई निगरानी गरेका थियौं। यसआधारमा पर्याप्त सवुत र प्रमाण भेटिएकाले दुई दिनमा नेपाल छाड्न भनिएको हो,’ न्यौपानेले भने, ‘जुन काम गर्ने अधिकार पाएको हो त्योमात्र गरेको भए यस्तो निर्णय गर्नै पर्दैन थियो।’

प्रहरीले उनलाई पक्रिएपछि उनका गतिविधिहरुको डिटेलमात्र प्रस्तुत गरेनन् ठोकुवासहित दोषी रहेको दावी गरेको छ।
 

२ दिनमा नेपाल नछाडे के त ?

नेपालमा बस्न नपाउने गरी वर्किङ भिसा क्यान्सिल भएको छ उनको। २ दिनभित्र नेपाल नछाडे (अर्थात् भोलिदेखि नै) उनी नेपालमा गैर कानुनी रुपमा रहेको हुनेछ। उनले सन् २०१६ को डिसेम्बरसम्मै नेपालमा रहेको 'प्रोफेसनल जब' गर्ने भिसा पाएका थिए। अब उनी त्यो अधिकारबाट बाहिरिएका छन्।

‘अब त मिलाएर गएनन् भने इल्लिगल स्टेमा पर्नसक्छन्,’ अनुसन्धानमा जोडिएको स्रोतले भन्यो, ‘यो केसमा अप्रत्यासितरुपमा धेरै नै छिटो डिसिजन भएको छ। धेरै प्रेसर आउनसक्ने विषय भएकाले पनि क्विक डिसिजन भएको देखिन्छ।’

प्रहरीको अनुसन्धानले उनका बाबु पनि नेपालमा लामो समय रहेर काम गरेको देखाएको छ। डडेल्धुरामा रहेर उनका बाबुले उपचारमा सघाएको अनुसन्धानका क्रममा खुलेको छ। उनका बाबु डाक्टर हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell