PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपालमा खेती, थाइल्याण्डमा लभ, ड्रग्सको धन्दा प्रहरीको फन्दा



मनोज सत्याल

नेपालमा खेती, थाइल्याण्डमा लभ, ड्रग्सको धन्दा प्रहरीको फन्दा

  • मनोज सत्याल -
काठमाडौं : धादिङ सत्यदेवीका पूर्णबहादुर पाख्रिनले आफ्ना एक साथीलाई साझेदारीमा अर्गानिक खेती गर्न प्रस्ताव गरे। पाख्रिनका साथी पनि तयार भए। दुवैबीच आर्थिक सरसापटी हुन थाल्यो। साथीले खाँचो परेको भन्दै पचास लाख रकम सापट मागेपछि पाख्रिनले दिए पनि।

तर एकदिन पाख्रिनले साथीलाई फोन गरे अनि भने –‘ त्यो पचास लाख खर्च नगर। बरु त्यो रकमले मेरो मुद्दा मिलाइदेउ।‘

पाख्रिनको कारोबार बारे त्यतिबेलासम्म उनका साथी बेखबर थिए।

तर जब पाख्रिनले आफ्नो मुद्दाबारे भने प्रहरीले नाम सार्वजनिक नगरेको उनको साथी फसादमा परे।

राजधानीको बुढानिलकण्ठ नगरपालिका निलोपुलमा बस्दै आएको पाख्रिन लामो समय देखि लागू औषधको तस्करीमा रहेछन्। उनको दाजु र भतिजहरु समेत लागू औषधको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न थिए।

लागू औषध नियन्त्रण विभागले गत चैत ३० गते पाख्रिनमा भतिजाहरु नेत्र गुरुङ र चित्र तमाङलाई पक्राउ गर्‍यो। लगत्तै प्रहरीले पत्रकार सम्मेलन मार्फत् पूर्णबहादुर पाख्रिनलाई फरार अभियुक्त ‘करार’ दियो। आफू विरुद्ध प्रहरी सर्च र मुद्दा नै अघि बढाइसकेपछि पाख्रिन मुद्दा मिलाउने तर्फ लागे। तर आफैँ अगाडि बढ्न सक्ने अवस्थामा थिएनन् उनी।

उनले जुक्ति निकाले। पचास लाख सापटी दिएको साथीलाई त्यो रकम मुद्दा मिलाउन खर्च गरिदिन आग्रह गरे।

फरारको सूचीमा राखेको पाख्रिनको मोबाइल प्रहरीले यसबीच ट्र्याक्र गरिरहेको थियो। अनि पत्ता लगायो उनको सम्पर्क बारम्बार एक साथीसँग छ। पाख्रिनका साथीले प्रहरीसँग सम्पूर्ण बयान दिए। अनि लागू औषध नियन्त्रण विभागलाई बुझाए ४९ लाख नगद। अर्को एक लाख नगद रहेको बित्तीय संस्थाको खाता भने प्रहरीले रोक्का राखेको छ।

लगत्तै प्रहरीले आवश्यक सूचना संकलन पछि गत १७ गते राजधानीको निलोपुलबाट उनलाई पक्राउ गर्‍यो।
 

को हुन् पाख्रिन?

पूर्ण पाख्रिन लागू औषध कारोबारमा लागेको १७ वर्ष भइसकेको छ। उनका दाजु धर्म अझै फरार छन्। प्रहरीले धर्मको खोजी भइरहेको जनाएको छ।

पूर्ण पाख्रिन सन् २००३ मा स्पेन जाने भन्दै थाइल्याण्ड पुगे। त्यसअघि सन् १९९९ देखि नै पूर्णका दाजु धर्म थाइल्याण्डमै थिए। पूर्णको थाइल्याण्डमा नुसास्रासँग भेट भयो। दुईबीच प्रेम पनि भयो। अनि विवाह पनि। पाख्रिन यसबीच नेपाल र थाइल्याण्ड आउजाउ गर्न लागे। थाइल्याण्डमा किराना पसल खोले। पाख्रिन र नुसास्राको बच्चा पनि भयो।

तर, सन् २००९ मा पाख्रिनलाई थाइ प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले लागू औषध एम्फेटामाइन कारोबारमा संलग्न भन्दै ३ महिना जेलमा राख्यो। बीस हजार भाट जरिवाना पनि गर्‍यो। थाइल्याण्डमा निगरानीमा परेपछि पूर्ण नेपाल आएर लागू औषध ‌ओसार पसारका लागि भरिया व्यवस्थापनमा जुटे।

अन्तत: पाख्रिनलाई लागू औषध नियन्त्रण ब्युरोले ‘अपरेसन आइस’ मार्फत् पक्राउ गर्‍यो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell