काठमाडौँ : कांग्रेसले सरकारविरुद्ध अभियान छेड्नु र एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकार निर्माणका लागि आह्वान गरेपछि बुधबार दिनभर राजनीति नयाँ सरकार बन्ने र ओली सरकार ढल्ने विषयमै राजनीति रुङमुङ्गियो।
सत्तारुढ नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच साँझ छलफल भएपछि यो विषय क्लिर हुने सबैको अपेक्षा थियो। एमाओवादी स्थायी समिति बैठकले एकपटक एमालेसँग कुरा गरेपछिमात्रै सरकारबाट बाहिरिने या नबाहिरने निर्णय गर्ने जनाएको थियो। मुलत: यो वार्ता औपचारिकताभन्दा बढी थिएन। बैठकले प्रचण्ड नेतृत्वमा सरकार बनाउने विषयलाई ग्रहण गरिसकेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा राति दुई प्रमुख सत्ता साझेदार दलका नेता भेला भए। तर कुरा भने पुरानै दोहरियो। एमालेले अहिलेकै गठबन्धनलाई बलियो बनाउनुपर्ने कुरा दोहर्याए भने प्रचण्डले उल्टै आफूलाई सहयोग गर्न ओलीसँग आग्रह गरे।
भेटमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु तथा एमाओवादीकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए। सरकार ढाल्ने या बनाउनेबारे भोलिसम्म चल्ने रस्साकस्सीले कुन मोड लिने हो त्यो हेर्न बाँकी नै छ।