PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

डेपुटी गभर्नर तथा कवि सिवाकोटीका कविता वाचन



रासस

पथरी : विराटनगरमा जारी विराट पुस्तक प्रदर्शनीअन्तर्गत बुधबार कवि चिन्तामणि सिवाकोटीको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ।
 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसमेत रहेका सिवाकोटी तीन दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन्। घोस्ट राइटिङ नेपालको आयोजनामा जारी पुस्तक प्रदर्शनीअन्तर्गत सिवाकोटीको एकल कवितावाचन बुधबार सम्पन्न भएको हो।
 
पुस्तक प्रदर्शनीस्थल, मारवाडी सेवा सदन, शनिहाटमा हरेक दिन काव्यवाचन, कृति विमोचन, नाटक मञ्चन लगायतका कार्यक्रमसमेत हुने गरेका छन्। सिवाकोटीले सो अवसरमा नयाँ–पुराना एक दर्जनभन्दा बढी कवितावाचन गरे।
 
यस्तै, राधिका गुरागाईं, ज्योति जङ्गल, गोकुल अधिकारी, शुभलक्ष्मी लम्साल, भुवन ढकाल, इन्दु अंशु लगायतका कविले कवितावाचन गरेर सिवाकोटीलाई सघाएका थिए। सोही अवसरमा सिवाकोटीको ‘छविलाल, तिमी घर फर्क’ शीर्षकको कवितामाथि अभिनयसमेत गरिएको थियो। कवि भरत गुरागाईंले वाचन गरेको कवितामा झोराहाट नाट्य समूहका कलाकार सुदीप कार्कीले अभिनय गरे।
 
यसैबीच, प्रदर्शनीमा पुस्तक खरिद गर्न आउने पाठकको अत्यधिक चाप बढेको छ। सोमबारदेखि सुरु भएको प्रदर्शनी वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ। १३० भन्दा बढी प्रकाशनगृहका साहित्यिक, सांस्कृतिक, धार्मिक, आर्थिक, पर्यटनसम्बन्धी पुस्तक प्रदर्शनीमा राखिएको घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell