PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सरकार परिवर्तनको हल्लाले बजारमा रातो सिग्नल



पहिलोपोस्ट

काठमाडौं : राजनीतिक अन्यौलताले पुँजीबजारलाई पनि असर गर्‍यो। बिहीबार पनि बजार शिथिल देखियो। नेप्से परिसूचक १५०० विन्दुतर्फ लागेको बेला सरकार परिवर्तनको बहसले बजारलाई १४६३ अंकमा ओराल्यो। सरकार परिवर्तनको पहल सुरु भएपछि बुधबार र बिहीबार दुवै दिन बजार घट्यो।

बिहीबार नेप्से करिब पाँच अंकले ओर्लियो। कारोबार सुरु हुनासाथ घट्न थालेको बजार आधा घण्टामा १४५० अंकसम्ममा ओर्लिएको थियो। आधा घण्टामै करिब १८ अंकले घटेको बजार फेरि सम्हालिएर १४६३.१३ अंकमा पुगेको हो।
 
कारोबार रकम पनि ७३ करोड १७ लाख मात्रै भयो। मंगलबार ९६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सरकार परिवर्तन हुन्छ र नयाँ सरकारको आर्थिक दृष्टिकोण तथा पुँजी बजार प्रति लिने नीति कस्तो हुने हो भन्ने अन्यौल लगानी कर्तामा छ। यो मनोवैज्ञानिक त्रास हो।
 
कारोबार भएका आठ वटा समूह मध्ये ६ समूहको सूचक घटेको छ। बैंक, इन्स्योरेन्स, जलविद्यूत, विकास बैंक, उत्पादन मुलक र फाइनान्स समूहको सूचक घट्यो भने होटलका लगानीकर्ताले मात्रै कमाएका छन्। टेलिकम सूचिकृत अन्य समूहको सूचक परिवर्तन भएन।
 
केही लघुवित्तका लगानीकर्ताले बिहीबार कमाएका छन्। नागबेली लघुवित्त, मिथिला लघुवित्त धेरै कमाउनेमा परेका छन्। यी दुई वटा कम्पनीको सेयर मूल्य मात्रै बिहीबार प्रतिकित्ता सय रुपैयाँ भन्दा धेरैले बढ्यो।
 
सबैभन्दा धेरै युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य घटेको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँले घट्यो। एभरेष्ट बैंक, स्वरोजगार लघुवित्त, समिट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त र कसमस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँ भन्दा धेरैले घटेको छ।
 
सबैभन्दा धेरै एभरेष्ट बै‌कको सेयर किनबेच भएको छ। यो बैंकको सात करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell