PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरकारको बचाउमा प्रधानमन्त्री ओलीको पौने २ घण्टे सम्बोधनका १७ तर्क



मनोज सत्याल

सरकारको बचाउमा प्रधानमन्त्री ओलीको पौने २ घण्टे सम्बोधनका १७ तर्क

मनोज सत्याल -
काठमाडौं : बजेटका लागि आव्हान भएको संसद अधिवेशन आफू माथि आक्रामक बनेपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षामा उत्रिए। संविधान कार्यान्वयन, पुर्ननिर्माणमा भएको सुस्तता देखि सरकार ढाल्न भएको यत्नका विरुद्ध पौने २ घण्टा खर्चिँदै ओलीले सांसदलाई जवाफ दिए। आफ्नो सरकारबारे संसदमा भएको आलोचनाले लाभावन्वित भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने – 'यो सरकार डिजाइन समह्वयोर इल्स (अन्त कतैको योजनामा) होइन।'
 

यो द्वापर युग होइन

प्रधानमन्त्री ओलीले सरकार र आफ्नो नेतृत्वलाई सदनमा भएको आलोचनालाई सहर्ष स्वीकार गरेको दावी गरे। साथै आलोचना गर्दैमा दण्डित हुन नपर्ने बताए। 'दुई दिन संसदमा भएको छलफलले लाभावन्वित महसुस गरेको छु। यो द्वापर युग होइन। द्वापर युगमा कृष्णलाई शिशुपालले १ सय १ गाली गरे। तर अहिले दण्डित हुनुपर्दैन। किनकि लोकतान्त्रिक युग हो। बहसले मलाई सचेत गराएको छ।'
 

संसद विघटनको हल्ला

सांसदहरुले सरकारले संसद विघटनको तयारी गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले भने – ‘संसद भंग हुँदैन, हामी संसदीय अभ्यासबाटै अगाडि बढ्छौँ। तर्कने, उम्कने र झस्केलाबाट हिँड्ने तरिका अहिलेको प्रधानमन्त्रीले गर्दैन। यहाँको बहुमत प्राप्त गरेको छ। जब संसदले प्रधानमन्त्री भइरहन जरुरी छैन भन्छ हिँडिहाल्छ।‘
उनले वर्तमान सरकार निष्फ्रिक भएकाले बलियो भएको पनि दावी गरे।
 

सहमति आज पनि आवश्यक

प्रधानमन्त्री ओलीले अहिले पनि राष्ट्रिय सहमति आवश्यक रहेको तर्क गरे। साथै आफूले राष्ट्रिय सहमतिका लागि विगतमा गरेको पहल स्मरण गर्न सांसदहरुलाइ आग्रह गरे।
'आज पनि सहमति आवश्यक छ। अँध्यारो कोठामा यो सरकार डिजाइन समह्वयोर इल्स होइन। यही संसदले बनाएको हो। मेड इन समह्वयोर इल्स होइन। विधिवत ढंगले राष्ट्रिय सहमति कायम गरौँ। सहि ढंगले अगाडि बढाउन म पनि बाधक छैन, मेरो पार्टी पनि छैन,' प्रधानमन्त्री ओलीले तर्क गरे, 'षड्यन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति उम्रदैन।'
उनले सहमतिको सरकार बनाउँ भन्दा आफ्नो घाँटी सुकेको बताए।
 

नमान्नु पर्ने कुरा केही छैन

प्रधानमन्त्री ओलीले आफू वार्ता र संवादका लागि खुल्ला रहेको बताए। उनले केही असन्तुष्टि भए संवादको बाटोबाटै समाधान गर्न सकिने तर्क गरे।
'म अत्यन्त खुल्ला हृदयका साथ भन्न चाहान्छु, असन्तुष्टि छन् भने बसेर चर्चा गरौँ, देशलाई फाइदा पुग्ने गरी गरौँ, नमान्नु पर्ने कुरा केही छैन।'
 

जातिवादी र भूगोलवादीको आरोप नश्लवादी

संसदमा सकारको आलोचना गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको चेतना नश्लवादी भएको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले त्यसको खण्डन जवाफमा गर्दै भने – ‘जातिवादी भूगोलवादी कुरा गर्ने अनि अरुलाई नश्लवादी भन्यो भने जायज हुँदैन। भावावेशमा नआउँ।‘
 

संविधान पुर्नलेखन हुँदैन

फोरमका अध्यक्ष यादवले संसदमा धारणा राख्ने क्रममा संविधानको पुर्नलेखनको मुद्दा उठाएका थिए। बिहीबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधान पुर्नलेखन हुनै नसक्ने तर्क गरे। उनले संविधानको सहनशीलता र ब्यापकताको चर्चा गरे। 'संसदमा धारे हात लगाएर सराप्न दिएको छ, संविधानको कत्रो छाती कति व्यापकता, सहनशीलता,' प्रधानमन्त्री ओलीले भने, 'संविधान पुर्नलेखनको रट नलगाउँदा हुन्छ, एक जनाले संविधान पुर्नलेखन गरौँ भन्ने अनि अरुले माग पूरा गर्नुपर्छ भनेर उचाल्ने? संविधान पुर्नलेखन हुन सक्दैन आवश्यकता अनुसार संशोधन हुन सक्छ।'
 

पुर्ननिर्माण र चार खर्ब?

प्रधानमन्त्री ओलीले भूकम्प पछि भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा भएका प्रतिबद्धताको रकम कता गयो भन्ने प्रश्नमा समेत खरो जवाफ दिए।
'यहाँ केहीले भन्नुभयो हामीले मागेर ल्याएको चार खर्ब खै? त्यो त दिउँला भनेको न हो। आएको हो र! ,' ओलीले भने, '४ खर्बको प्रतिबद्धता मध्ये बल्ल १ खर्ब ८८ अर्ब ऋण तथा अनुदान सम्झौता भयो। भारतसँग ७५ अर्ब ऋण सम्झौता हुँदैछ। त्यसपछि बल्ल ६४ प्रतिशत रकम भित्रन्छ।'
उनले प्राधिकरण गठनमा ढिलाई भएको र वैशाख १२ मा भूकम्प आएपछि आफ्नो सरकार २५ असोजमा मात्र गठन भएको उल्लेख गर्दै  पुस १० मा प्राधिकरण गठन भएको विषयमा ध्यान दिन सांसदहरुलाई आग्रह गरे।
उनले भूकम्प पीडितको रकममा भ्रष्ट्राचारको आरोप लगाउने सांसदहरुलाई विचार पुर्‍याएर बोल्न चेतावनी समेत दिए।
 

आलोचना गर्न मन छ ठाउँ छैन

प्रधानमन्त्री ओलीले विपक्षी सांसदहरुले आफ्नो सरकारको आलोचना गर्ने इच्छा गरे पनि ठाउँ नभएकाले भूकम्प र आगलागी जस्ता प्राकृतिक प्रकोपको विषय उठाइएको टिप्पणी गरे।
'भुँइचालो गयो के हेरिस्, आगलागी भयो के हेरिस्! खडेरी भयो के हेरिस् भनियो,' हाँस्दै प्रधानमन्त्रीले ओलीले बुधबारको वर्षाको चर्चा गर्दै  भने, 'खडेरी भयो र यो सरकारलाई आपत् पार्छन् कि भनेपछि बेलुका पानी पर्‍यो।

तेरो बाउले धमिल्याएको थियो भनेर निँहु नखोज

प्रधानमन्त्री ओलीलीले आफू दलित मधेसी र जनजातिका मुद्दामा संवदेनशील भएको तर्क गरे। उनले आफ्नो सरकार गठन हुनु अघि नै ४० जना भन्दा धेरैको तराईमा ज्यान गएको र सुरक्षाकर्मी नै सुरक्षित नभएको अवस्था रहेको चर्चा गरे। साथै मधेसीको मागबारे समेत प्रश्न उठाए।
'कुनै समय २२ बुदेँ र ८ बुदेँ सहमति भएको थियो। मैले हेर्छु नि त कहाँ छ भनेँ। अनि भनेँ यो पानी मैले धमिल्याएको होइन, तर तेरो बाउले धमिल्याएको थियो भनेर निँहु नखोज्न म आग्रह गर्छु। यो सरकार जनताप्रति संवदेनशील छ। मधेसी जनजातीको माग प्रति संवेदनशील छ।'
 

वार्ता र घाइतेको उचारबारे

प्रधानमन्त्री ओलीले मधेसमा आन्दोलनका क्रममा घाइते भएका एक जनाको पनि उपचार नपाएको भए आफूलाइ भन्न आग्रह गरे। 'कुनै घाइतेको उपचार भएको छैन भने मलाईँ देखाउनुस्, घाइते नहुञ्जेल तपाँईँको कार्यकर्ता होला, घाइते भएपछि उ नेपालको नागरिक हो उपचार हुन्छ।'
उनले मधेस केन्द्रित दलहरुलाई इङ्गित गर्दै वार्ता र संवादमा आउन आव्हान गरे। 'म आव्हान गर्छु संवाद जस्तो बाटो अर्को हुन्न, असन्तुष्टि कुराकानीको टेबलमा राखौँ।'
 

यत्रो आकारको सरकार?

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई इङ्गिग गर्दै विगतमा २ सय ५ सदस्यीय प्रतिनिधि सभा हुँदा ४८ देखि ५० जनासम्मको सरकार गठन भएको उल्लेख गर्दै अहिले संविधानले दिए अनुसार ६ सय १ जना सांसद हुँदा ठूलो सरकार बनेको बताए।
 

३ करोडमा भोजमा सकेकोबारे

ओलीले आफूले सुशील कोइराला सरकारको भन्दा कम खर्च गरेको दावी गरे। 'अघिल्लो सरकारले तीन महिनामा ७४ लाख खर्च गरेको रहेछ। अहिलेको सरकारले ८ महिनामा हाराहारी ८३/८४ लाख खर्च गरेको छ,' उनले कागको पछाडि नलाग्न भन्दै कान छाम्न सचेत गराए।
 

आपूर्तिको चिन्ता

आपूर्ति व्यवस्था नाकाबन्दी हटेपछि पनि सहज नभएको विषयमा आफूलाई चिन्ता लागेको उनको भनाई थियो। साथै प्रधानमन्त्रीले आपूर्ति मन्त्रीलाई क्रियाशील हुन सदनबाटै निर्देशन दिए। 'साथै केही बेठिक भए रोक्न गृह मन्त्रालयको ध्यान जाओस्,' ओलीले भने। दुवै मन्त्रालय एमाओवादीले सम्हाल्दै आएका छन्। ओलीले एमाओवादी सांसदहरुले कालोबजारी र आपूर्ति असजहमा उठाएको प्रश्नमा व्यङ्ग गरे।
 

एउटा छिमेकी विरुद्ध अर्को

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले एउटा छिमेकी विरुद्ध अर्को प्रयोग गरेको भन्ने आरोपको खण्डन गरे। कांग्रेस सांसद मानबहादुर विश्वकर्माले सरकारले छिमेकी सम्बन्ध निभाउन नसकेको आरोप लगाएका  थिए।
'भारतसँगको नाकामा एक ठाउमा २/४  बस्दा सबै नाका बन्द हुन्थ्यो। त्यस स्थितिबाट सम्बन्ध सुधार गरेर ल्याएँ,' प्रधानमन्त्री ओलीले भने, 'एउटा छिमेकी विरुद्ध अर्को छिमेकी होइन, भूपरिवेष्ठित मुलुकमा पारवाहन हक हो। हामी कुनै छिमेकी विरुद्ध थिएनौँ। हामी उग्र खोक्रो राष्ट्रवादमा विश्वास गर्दैनौँ, राष्ट्रवादमा विश्वास गर्छौँ र स्वाभिमानमा।'
'एउटा छिमेकीसँग बोल्दा अर्को रिसाउला भन्ने धारणा खोक्रो हो', उनले भने।

उखान टुक्काले देश चल्छ?

संसदमा आफूमाथि लागेको आरोप उप्काउँदै ओलीले भारतको विशाखापट्टनम बन्दरगाहा सञ्चालनमा ल्याउने सम्झौता, चीनसँगको यातायात र पारवाहन सम्झौता उखान टुक्का हो भन्दै प्रतिप्रश्न गरे।
उनले १ वर्ष भित्र लोडसेडिङ हटाउँछु भनेर आफूले भनेको तर अहिले खोई बिजुली भनेर प्रश्न गरिएको बताए। 'क्याण्डल हो र बेलुका ल्याएर बालिदिन, यो वर्षमा आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्छु भनेको हो,' ओलीको भनाई थियो।
 
ओलीले पूर्व पश्चिम रेल्वेको सर्भे भइरहेको बताए। साथै उनले सरकारको कुरा सुनेर कसैलाइ छटपटी भए पनि आफूले काम गरेर छाड्ने दावी गरे।
'केही वर्षमा लिक ओच्छ्याएर रेल गुडाउने भनेको हो। म पहाडबाट झापा झरेपछि रेल हेर्न गलगलिया गएँ। हाम्रो सन्ततिलाई हेर्न पठाउने कि यहीँ चढ्ने बनाउने भनेको हो,' ओलीले भने।
 

दाँत बन्द गरेर हिँडे जिब्रो तान्लान् भनेर

प्रधानमन्त्री ओलीले घरघरमा ग्यास जोड्ने प्रस्ताव आफूले गर्दा जिब्रो तान्लान् भनेर दाँत बन्द गरेर हिड्नुपर्ने अवस्था समेत आएको बताए।
'तर यो सपना होइन यथार्थ हो। काठमाडौँको चुल्हामा पुर्‍याउन पाइन्न भनेर संविधानमा लेखेको छ?' ओलीले प्रश्न गर्दै भने, 'चीनमा रुसमा बंगलादेशमा सम्भव छ। भारतका सहरमा सम्भव छ। काठमाडौँमा किन छैन?'
ओलीले फोहोरबाट उत्पादित ग्यास घरमा जोड्ने कुरा गरेको समेत बताए।
 

राष्ट्रिय सहमतिको विरोधी होइन

उनले आफ्नो सरकार र सरकारमा सहकार्यमा रहेका दलहरु राष्ट्रिय सहमतिको विरोधमा नरहेको बताए। 'खुलस्त छलफल गरौँ', उनको भनाई थियो।
 
फोटो : रासस/पहिलोपोस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell