PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

मध्यरातमा सङ्गम होटलभित्र दुईको हत्या



रासस

भीमदत्तनगर : कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन्।
 
गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्रै हत्या भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण चन्दले जानकारी दिए।
 
त्यसैगरी, अर्का होटलमै काम गर्ने दोधारा चादँनी घर भएका ४२ वर्षीय पदमराज जोशी गम्भीर घाइते भएका छन्। घाइतेलाई प्रहरीले राति नै उपचारका लागि कोहलपुर लगेको छ। हत्यामा घरेलु हतियार प्रयोग भएको समेत प्रहरीले जनाएको छ। मृतक रोकाया ६ महिना र मृतक विष्ट एक वर्षदेखि उक्त होटलमा काम गर्दै आएका थिए।
 
प्रहरीले घटनाका बारेमा हत्या लगत्तैदेखि विस्तृतमा अनुसन्धान थालेपछि कुन पक्ष वा समूहबाट भएको भन्ने यकिन हुन सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनाल र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण चन्दको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ। केही महिनाको अवधिमा यहाँका विभिन्न स्थानमा गरी चार जनाको हत्या भइसकेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell