काठमाडौं : पेट्रालियम व्यावसायीहरुले सरकारले नै तेलको कालोबजारी गरिरहेको आरोप लगाएका छन्। नेपाल आयल निगमले व्यावसायीहरुलाई दिने गरेको इन्धनका ट्याङ्करमा परिमाण भन्दा थोरै मात्रामा इन्धन दिएर जबर्जस्ती कालोबजारी गर्न लगाएको आरोप लगाए।
राजधानीमा जारी नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको ३९ औं वार्षिक साधारणसभा तथा १५ औं राष्ट्रिय सम्मेलनमा व्यवसायीहरुले निगममा भ्रष्टाचार मौलाएको र त्यसलाई सरकारले रोक्न नसकेको आरोप लगाए।
व्यावसायीहरुले निगममा हुने भ्रष्टाचार रोक्न आपूर्ति सचिव श्रीधर सापकोटालाई आग्रह गरे।
उनीहरुले निगमले दिने तेलमा क्रस चेक नगरी सोझै व्यावसायीकोमा दिने गरेकाले खुद नोक्सान व्यावसायीले व्यहोरिरहनुपरेको बताए। तापक्रम मापन नगरी अवैज्ञानिक तरिकाबाट तेल दिने गरेको एसोसिएसनका निवर्तमान अध्यक्ष सरोजप्रसाद पाण्डेले आरोप लगाए। उनले मन्त्रालय, निगम र व्यावसायी मिलेर समस्याको समाधान गर्न सकिने भन्दै सरकारले नीति सुधारे स्थायी सरकारलाई सधाउने प्रतिबद्धता समेत व्यक्त गरे।
तेल व्यवसायीले प्रतिस्पर्धाको नाममा निजी क्षेत्रलाई पूर्वाधारबिना नै तेल आयात गर्न स्वीकृति दिएको भन्दै त्यो कदम फिर्ता नगरे तालाचाबी सरकारलाई जिम्मा लगाउने धम्की दिए।
कार्यक्रममा सचिव सापकोटाले निजीक्षेत्रको साझेदारीले मात्र देशको विकास सम्भव हुने भन्दै व्यावसायीलाई सहकार्य गर्न आग्रह गरे। सरकारले चाँडै नै निगमको प्रतिस्पर्धी कम्पनी आउन लागेको र त्यसका लागि सञ्चालन अनुमति दिइसकेको बताए।
व्यावसायीले निगमले इन्धन पर्याप्त मात्रामा नदिएको भन्ने गुनासोको उत्तर दिँदै सापकोटाले निगम चाँडै अटोमेसन सिस्टममा जाने र त्यसपछि कसैलाई पनि भेदभाव नहुने भन्दै केही समय पर्खन आग्रह गरे।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सार्वजनिक रुपमा नउत्रन व्यावसायीलाई धम्की दिए। उनले भने, 'समस्याको समाधान निगममा बसेर गर्न सकिन्छ तपाईहरु यस्तो सार्वजनिक स्थानमा आएर निगमको विरोध गर्नुहुन्छ यो प्रक्रिया राम्रो भएन। सबैकुरा मिलाएर ल्याए निगम व्यवसायीसँग निष्कर्ष निस्कने तयारीका साथ वार्ता गर्न तयार छ।'