काठमाडौै : 'कलाकारको कला सुन्दर हुन्छ तर ऊ भित्र सुन्दर अनि कोमल पक्ष मात्र भने हुँदैन। ऊ रिसाउछ पनि, डाह पनि गर्छ। त्यस्तै एउटा कलाकारको सकारात्मक र नकारात्मक दुवै पक्षलाई उसैको जीवनको कथासँग जोडेर हेर्न सकिन्छ यो चलचित्रमा,'
माउन्टेन रिभर फिल्मस र टाइनी बट बिग पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म 'अनागत'को सब्जेक्टमाथि बोल्दै थिए निर्देशक तथा निर्माता साम्तेन भुटिया।
अर्पण थापा (सुरेश) र प्रियंका कार्की (कृती) को वैवाहिक जीवन र दुई जीवन साथीबीच उत्पन्न हुने सङ्काका कारण निम्तने मनोवैज्ञानिक अवस्था र अन्य परिस्थितिलाई फिल्मको कथामा प्रस्तुत गरेको भुटियाले जानकारी दिए।
'मेरो दश वर्षको वैवाहिक जीवनमा खासै आरोह, अवरोह आएको छैन। पहिलो पटक कथा थाहा पाउँदा त झास्किएँ। मेरो वैवाहिक जीवनमा यस्तो नहोस् भनेर कामना गरें,' अभिनेता अर्पण थापाले भने। उनका अनुसार एउटा पत्नीले आफ्नो पतिमाथि शङ्का गर्ने र पतिलाई नै मार्ने योजना फिल्मको कथामा बुनिन्छ।
साइकोलोजिकल थ्रिलर फिल्म अनागतको छायँकन यही वैशाख २८ गते बाट सुरु हुँदै छ।
चलचित्रमा प्रियंका कार्की , अर्पण थापासँगै प्रविण खतिवडा, रोसिन सुवेदी लगायत कलाकारको मुख्य भूमिका रहनेछ।
'अनागत' समिर उपाध्याय, चन्द्र के झा, निलु डोमा शेर्पा, साम्तेन भुटियाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।