PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कान्तिपुर गाथा : आमा र मायाको मौसम



किशोर नेपाल

कान्तिपुर गाथा : आमा र मायाको मौसम

  • किशोर नेपाल -
शुक्रबार विशेष दिन। आमाहरुका लागि छुट्याइएको मदर्स डे। आमाको मुख हेर्ने र खुवाउने औंसी। सामाजिक संजालमा आमाको फोटो टाँस्न व्यस्त प्रयोगकर्ताहरु। गाउँकी आमाको प्रतिविम्व। सम्झनामा भर्खर तताएको गाई–भैंसीको शुद्ध दूधको बटुको समातेर सन्तानलाई दूध पिलाउन खोजी रहेकी आमा। आमाको मायामा बररर्र झारिएका आँसुले छपक्क भिजेको फेसबुकको भित्तो। त्यसमा टाँसिएका बहुरंगी तस्वीरहरु। तस्वीरका अगाडि थुपारिएका फलफूल र मिठाइका परिकारको थुप्रो। आमाहरुको आँखामा टल्किएको सन्तानको स्नेहप्रतिको अविश्वास। परार साल चुल्ठोमा समातेर घिस्याउँदै घरबाट निकाल्ने छोरा–बुहारीको हदय परिवर्तनपछिको यो असीम प्रेम। के विश्वास गर्नु र के विश्वास नगर्नु ? एक दिने माया। कति माया, कति छलछाम। अलिअलि व्यंग्य र अलिकति वक्रोक्ति।
 
मातातीर्थ पोखरीको छेउमा उभिएकी कनिका सोच्दैथिइ। उसकी आमा घरमा थिइन। उनैले राखेकी थिइन् उसको नाम कन्याकुमारी। उसले त्यो नामलाई संशोधन गरेर आफूलाई बनाएकी थिइ कनिका। कनिका आमा जीवित भएकोमा खुशी छे। उनले उसलाई धेरै छूट दिएकी छिन्। ठट्टा गर्छिन्। हँसाउँछिन्। छोराछोरीको आँखामा कहिल्यै पनि एकथोपा आँसु देख्न सक्दिनन्। आमा बिहान मात्रै दाजुलाई जिस्क्याउँदै थिइन्, “मलाई नयाँ फोन ल्याइदिनस् भने तँलाई मेरो मुख हेर्नै दिन्न।”
 
चार्ली पोखरीको पानी हातमा लिएर आफूलाई चोख्याउँदैछ। उसकी आमा छैनन्। बाबु पनि छैनन्। बाबुको भन्दा पनि आमाको सम्झना बढी आउँछ चार्लीलाई। बाबु मरेका छैनन्। चार्लीका लागि मरे बराबर नै छन्। आमा मरी सकिन्। अहिलेसम्म उसका लागि जीवित छिन् उनी।

मातातीर्थबाट फर्किदा चार्लीले कनिकालाई सुनायो, “अस्ति राति आमाले तिमीसँग बिहे गर्नू भनिन्।”

कनिकाले भनी, “गर न त । म सँगै गर्ने त हो नि। म तयार छु। अहिले नै गर्ने भएपनि मन्जुर।”

चार्लीले जवाफ दियो, “बिहे पनि त्यसरी हुन्छ त ? त्यो पनि आज आमाको मुख हेर्ने औँसी।”

कनिकाको कुराले चार्ली झस्कियो। बिहे नगर्ने मनसाय उसको थिएन। अहिले नै बिहे गर्ने कुरा उसले सोचेको थिएन।

कनिकाले जवाफ दिई, “औंसी भएर के भो त। अघि देखेनौं हामी आउँदा बाजा ठोकेर त्यत्रा जन्ति गएका थिएनन् ?”

चार्ली केही बोलेन। यतिखेर ऊ बोेल्न तयार थिएन। भोकले दाव्दै ल्याएको थियो उसलाई। उसले कालिमाटीको एउटा रेष्टुराँको पार्किंगमा बाइक रोक्यो र कनिकासँग भन्यो, “खाना खाने होइन ?”

खाना खानुभन्दा अघि उनीहरुले बियर पिए। बियरले झुम्म बनायो कनिकालाई। उसको अनुहार रातो–रातो भयो।
 
छेउको टेबुलमा बसेका केही व्यक्तिहरु चीन र भारतको चर्चा गर्दै थिए। उनीहरुको छलफल कान्तिपुरमा एक डेढ वर्षभित्रै चल्ने मेट्रो रेलमा केन्द्रित थियो । कनिकाले चार्लीको कानैमा ओंठ पुर्‍याएर विस्तारै भनी, “सुन्यौ त ?”

चार्ली हाँस्यो। कनिका पनि हाँसी र भनी “ल, मेट्रो रेलको नाममा एकएक बियर थपौं। मज्जा आयो।”

छेउको टेबुलमा छलफलको विषय बदलिएर राजनीतिमा सरेको थियो। एउटा बुज्रुग भन्दै थियो, “सरकार ढाल्ने त खेल नै होइन नि। प्रचण्डभन्दा ओली बूढो कता हो कता बाठो छ। वामपन्थी एकताको कुरो गर्‍यो होला। बजेटपछि तिमी नै प्रधानमन्त्री भन्यो होला। त्यति भए पुगिहाल्यो प्रचण्डलाई। यी ज्यानमाराहरुलाई नथुनी के छाडथ्यो ओलीले। हेरी राख साथी हो।”

पछिल्लो छलफल कनिका र चार्ली दुवैले बुझेनन्। राजनीतिमा उनीहरुको खासै चासो थिएन। उनीहरुका लागि घरघरमा ग्यासको पाइप र मेट्रो रेल नै काफी थियो सम्झिन र बुझ्नका लागि।

बियर सकिएपछि उनीहरुले खाना खाए। चार्लीलाई सुतौं सुतौं लाग्न थालेको थियो। कनिका त आधा निंद्रामा नै थिइ। कनिकालाई लिएर कसरी पुग्नु बानेश्वर? चार्ली टेन्सनमा थियो। उसले बाइक पार्किंगमा छाडेर ट्याक्सीमा जाने विचार गर्यो। कनिका भने बाइकमा नै जाउँ भन्न थाली। चार्लीले मन दह्रो बनायो। लिपिक्क टाँसिएर बसेकी कनिकालाई लिएर बाइक दौडायो। कनिका अलिकति निंदाउँथी, त्यसपछि अलिकति व्युझिन्थी र भन्थी, “चार्ली हामी आजै बिहे गरौं न।”

चार्ली आमाको अनुहार सम्झिन्थ्यो र झस्किन्थ्यो, हो बिहे त गर्नै पर्दछ। यो उमेरमा नगरेको बिहे कहिले गर्नु?

चार्लीको कोठामा पुगेर दुवै निंदाए। उनीहरु उठ्दा साँझपर्ने समय भै सकेको थियो। कनिका आत्तिइ, “ओ माइ गड । ममीको मुख हेर्ने बेला हुन लागिसकेछ । मलाई घर पुर्‍याइ देऊ न चार्ली।”

चार्लीले जिस्क्यायो, “बिहे नगरी जान्छ्यौ ?”

कनिका हाँसी, “लगन जुराइ राख न।”

​(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा ) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell