PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​सांसदले भने – सरकार, रेल गुडाउँदै गरौँला, पहिला संसदको शौचालयमा पानीको व्यवस्था गर



रमेश वाग्ले

​सांसदले भने – सरकार, रेल गुडाउँदै गरौँला, पहिला संसदको शौचालयमा पानीको व्यवस्था गर

  • रमेश वाग्ले -
काठमाडौँ : धेरैलाई लाग्छ संसद देशको सम्पूर्ण नीति निर्माण गर्ने थलो हो। त्यहाँ साना-साना विषयको कुनै मतलब हुँदैन। सांसदहरु जनताका विषयमा सोच्छन्, उनीका खास समस्या हुँदैनन् र सुनिँदैनन पनि। तर संसदभित्रको यथार्थ भने फरक छ। 

यहाँ त्यस्ता केही प्रसंगहरु छन् जुन तपाईँका लागि अनपेक्षित भए पनि सत्य हुन्। 

संसद्को शौचालयमा पानी देऊ

तपाइँलाई सुन्दा आश्चर्य लाग्न सक्छ। तीन दिनदेखि संसदको शौचालयमा पानी छैन। यो विषय त्यतिबेला सार्वजनिक चासोको विषय बन्यो, जब सांसद् सञ्जय गौतमले रोष्ट्रममा उभिएर पहिला सरकारले संसद्को ट्वाइलेटमा पानीको व्यवस्था गरोस् भन्दै ध्यानाकर्षण गराए। 

‘सरकार देशमा रेल गुडाउने प्लान लिएर आएको छ, त्यो प्लान आफैमा सराहनीय पनि छ,’ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले बजेटका प्राथमिकतामा बोल्नु अघि रोष्ट्रममा उभिएर भने, ‘यदि सरकार राम्रोसँग काम गर्न इमान्दार छ भने पहिला संसद्को ट्वाइलेटमा पानीको व्यवस्था गरोस्।' 

उनले त्यसो भनेपछि बाहिर ट्वाइलेटमा पानी नभएर हैरान भएका सबैलाई आभास भयो, बाहिर मात्र हैन भित्र पनि पानीको समस्या रहेछ। शनिबारको बैठकमा पनि सांसद मिठ्ठु मल्लले कम्तिमा पनि संसदको ट्वाइलेटमा पानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।  

कुरा के हो त? बुझ्दा सांसदहरुले बताए संसदको ट्वाइलेटमा गत बुधबारदेखि नै पानी अभाव भएको रहेछ। 

बिहीबारको बैठकको सुरुवातसम्म प्रतिपक्षीको ट्वाइलेटमा पानी रहेपनि केही बेरपछि पानी सकिएको थियो। ‘म बिहीबार नै ट्वाइलेट गएकी, ट्वाइलेटमा पानी थिएन’ एक प्रतिपक्षकी सांसद्ले भनिन्, ‘प्रधानमन्त्रीकोमा होला भनेर दौडदै गएकी त, त्यहाँ झन गइसक्नु नै रहेनछ।’ 
उनले त्यसपछि ट्वाइलेटकै प्रयोगका लागि पनि संसदको क्यान्टिनमा खाजा नखाएर बाहिर रेष्टुरेन्टमा जानु परेको बताइन्।
 
अहिले भाडामै संसद संचालन भएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पानी बोरिङ गरेर त्यहाँ खान मिल्ने पानी वितरण गरिएको थियो। बाहिर भेटिने धारामा पनि फिल्टर गरिएको खान मिल्ने पानी आउँथ्यो। तर पानी सुकेपछि बल्ल शनिबार ट्याङ्करबाट पानी हालिएको छ। 

पानी नभएकै कारण संसद बैठक बहिस्कार

कतिसम्म भयो भने सांसद हरिचरण साहले संसदको ट्वाइलेटमा पानी नै नभएको भन्दै शुक्रबारको बैठक बहिस्कार गरे। ‘यो संसद्का ट्वाइलेट जाने अवस्था समेत छैन, ट्वाइलेटमा पानी समेत नभएपछि यस्तो संसदमा बस्नु उचित हुँदैन’ साहले भने, ‘त्यसैले यो संसद बैठक म बहिस्कार गर्छु।’ उनले यसअघि अन्य कारण देखाएर संसद बैठक बहिस्कार गदै आएका थिए ।

सांसद साह यसै पनि विभिन्न काम गरेर चर्चामा आउने गरेका थिए। वर्तमान प्रधामन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा समेत अघिल्लो दिन समर्थनमा हस्ताक्षेर गरेर भोलिपल्ट समर्थन फिर्ता लिएका थिए। हिजो समर्थन गरेर आज किन समर्थन जनाउनुभएन भन्ने प्रश्नमा साहले भनेका थिए, ‘मैले समर्थन जनाउनै खोजेको थिएँ तर कमल थापाको हस्ताक्षेर देखेपछि फिर्ता लिएँ, मण्डलेले समर्थन गरिसकेपछि हामीले कसरी समर्थन गर्ने ?’

रिटायर्ड भएपछि सांसदले नुन चिनीको दोकान खोल्ने?

सांसद प्रेमकिशोरप्रसाद साहले सांसद हुन जुन पोर्टफोलियो सुविधा तथा सम्मान प्राप्त छ, त्यसको निरन्तरताका लागि केही गर्नुपर्ने बताए। 
‘हामी राजनीति गर्नेहरुले सम्पूर्ण करिअर पोलिटिक्समा लगाएको हुन्छ’ सांसद साहले भने, ‘सांसदहरु रिटायर्ड भएपछि हामीले चाहीँ के नुन चिनीको दोकान थाप्ने?, हामीलाई रिटायर पछिको प्लान सरकारले दिनु पर्यो।’

 उनले  सांसदहरुले अहिले पाउँदै आएको सुविधा वृद्धि गर्दे पेन्सनको पनि व्यवस्था गर्न माग गरे। 

संसदमा जारी आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा सरकारले पेश गरेको प्रस्तावमा छलफलमा भाग लिदै सांसद साहले यस्तो माग प्रस्तुत गरेका हुन्। सांसद शेषनाथ अधिकारीले पनि सांसदहरुका लागि छुट्टाएको ६ हजार ५ सय भाडा बढाएर नपुग्ने भन्दै अन्य सेवा सुविधा पनि बढाउन माग गरे ।

संसद बैठकमा सांसदकै अभाव

संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहँदा संसदमा बोल्ने र बोल्न पालो कुर्नेहरुमात्र बैठक कक्षमा देखिन्थे। अधिकांश सांसदरु संसद भवन बाहिर हुन्छन्। विगतमा संसदको क्यान्टिनमा देखिने सांसदहरुमध्ये कतिपय बजेट पारिदिन मन्त्रालय धाइरहेका हुन्छन् भने कति बाहिरका रेष्टुरेन्टमा खाजा खान गएका देखिन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell