PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरकारको पत्र आओस् अनि म बोल्छु : राजदूत उपाध्याय



रमेश वाग्ले

सरकारको पत्र आओस् अनि म बोल्छु : राजदूत उपाध्याय

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारको ‘फिर्ता बोलाउने पत्र’ पाउनासाथ नेपाल फर्कने बताएका छन्।
सरकार गिराउने खेलमा लागेको भन्दै सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
 
सुशील कोइराला प्रधानमन्त्री हुँदा लामो समयदेखि रिक्त रहँदै आएको भारतको राजदूतमा उपाध्यायलाई नियुक्ति गरिएको थियो। उनी त्यतिखेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई सरकारले ‘असहयोग गरेको’ आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको हो। विवादित यो निर्णयले सरकारप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस चिढिएको छ।
 
पहिलोपोस्टसँगको टेलिफोन संवादमा राजदूत उपाध्यायले ‘राजदूत राख्ने वा फिर्ता बोलाउने अधिकार सरकारलाई रहेको’ भन्दै त्यसलाई आफूले स्वभाविक रुपमा लिएको पनि बताए।
 
तर, उनले रक्षामन्त्री भीम रावलको टिप्पणी भने आपत्तिजनक रहेको बताए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका रावलले कूटनीतिक मर्यादा उल्लंघन गरेकाले राजदूत उपाध्यायलाई फिर्ता बोलाएको अभिव्यक्ति दिएका थिए। 
 
'कुनै देशमा राजदूत राख्ने वा फिर्ता बोलाउने भन्ने अधिकार सरकारको हो यस अर्थमा सरकारबाट भएको मलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णयलाई स्वभाविक रुपमा लिएको छु,' राजदूत उपाध्यायले भने, 'तर रक्षामन्त्रीका तर्फबाट आएको जुन धारणा छ, त्यो आपत्तिजनक छ।'
 
उनले रक्षामन्त्रीलाई कूटनीतिक विषय र आफूले कसरी काम गरिरहेको भन्ने विषय थाहा नभएको भन्दै विनाजानकारी दुई देशको सम्बन्धमा नै प्रश्न उठ्नेगरी अभिव्यक्ति आएको बताए।
 
'एउटा राजदूत फिर्ता बोलाउनेभन्दा पनि मुल कुरा भनेको दुई देशको सम्बन्ध हो,' उनले भने, 'तर रक्षामन्त्रीले जुन अभिव्यक्ति दिनुभएको छ त्यो गम्भीर र दुई देशबीचको सम्बन्धमा नै समस्या ल्याउने खालको छ।'
 
उनले भारतका लागि नेपाली राजदूत र नेपालका लागि भारतीय राजदूत बीपी कोइराला नेपाल भारत फाउन्डेसनको 'को-चियर' हुन्छ भन्ने विषय समेत थाहा नभएजस्तै गरी रक्षामन्त्री रावलबाट अभिव्यक्ति आएको बताए।
 
'भीमजी अहिले रक्षामन्त्री हुनुहुन्छ, म भारतको राजदूत छु,' उपाध्यायले भने, 'यी दुवै स्थायी पद हैनन्। भोलि उहाँ र हामीसँगै उभिनैपर्छ, तर किन यस्तो अभिव्यक्ति दिनुभएको हो आश्चर्य लागेको छ।'
 
उनले सरकारको निर्णयको पत्र अहिलेसम्म प्राप्त नभएको भन्दै पत्र पाएपछि मात्र नेपाल फर्कने र आफ्नो धारणा सार्वजनिक गर्ने बताए।
 
'यहाँ पनि मिडियाहरुले किन कसरी भन्ने प्रश्न बारबार सोधिरहेका छन्,' उनले भने, 'मन्त्रिपरिषदको निर्णयको पत्र मेरो हातमा नपर्दासम्म त मैले के धारणा राख्ने?' उपाध्यायले पत्र पाएपछि नयाँ दिल्लीका मिडियासँग कुरा गरेर काठमाडौं आउने जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell