PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

यो सरकार छोटै अवधिको हो, निर्वाचनमा सहयोग गर्नुस् : ओली



रासस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

नेकपा (एमाले)को संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहेका ओलीले संविधानको मर्म, मुलुकको आवश्यकता र जनचाहनाबमोजिम स्थानीय निर्वाचन मङ्सिरमा गर्न सरकारले नीति तथा कार्यक्रममार्फत तयारी गरेको उल्लेख गरे।

व्यवस्थापिका–संसद्मा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

संसद् भवन नयाँ बानेश्वरमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै निर्वाचन हुन नसक्ने जनाएको सन्दर्भमा भने, “यो सरकार छोटो अवधिका लागि नै हो, संविधानबमोजिम २०७४ माघ ७ भित्र आम निर्वाचन गरी सत्ता हस्तान्तरण गरिनेछ। यसैले निर्वाचनका लागि सबै तयार रहनुपर्छ।”

बैठकमा नीति तथा कार्यक्रमका विशेषताबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा र अर्थविद् डा दिनेशचन्द्र देवकोटाले प्रस्तुति गरेका थिए।

संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले नीति तथा कार्यक्रमलाई अझ सुदृढ बनाउँदै पारित गराउन पार्टीका सांसदहरुले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell