PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम



उमेश श्रेष्ठ

पनामा पेपर्स लिक : नेपालीको नाम सार्वजनिक, उपेन्द्र महतोदेखि चौधरीसम्मको नाम

​​काठमाडौँ : विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्स दस्तावेजमा रहेका नेपालीहरुको नाम सार्वजनिक भएको छ। 

विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ, कागजी) कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिक खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार राति पौने १२ बजे गरेको हो।

लिक भएका दस्तावेजमा सात जना नेपालीको नाम रहेको छ। त्यसमा उपेन्द्र महतो, चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी र चौधरी थर भएका थप तीन जना रहेका छन्। त्यसैगरी नवाङ डोल्मा र उमादेवी सि‍ंहानियाको नाम पनि पनामा पेपर्समा भेटिएको छ। 
 

उपेन्द्र महतो


नेपालको सिराहा ठेगाना देखाएका उपेन्द्र महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन्। स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको छ। 

दस्तावेजमा यसको स्टायटसमा एजेन्ट परिवर्तन गरिएको भनिएको छ। स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ। 

महतो सेयरहोल्डर भएको अर्को कम्पनी हो- पन्कुर फाइनान्सेज लिमिटेड। यो पनि सोही मितिमा दर्ता भएर सोही मितिमा निस्क्रिय र एजेन्ट परिवर्तन स्टायटस देखिएको कम्पनी हो। यसको ठेगाना पनि युएईमा नै रहेको छ। 

अरुणकुमार चौधरी र चौधरीहरु

चौधरी ग्रुपमा एमडी अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा रहेका छन्। ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको र २७ जुलाई २०१२ मा निस्क्रिय भएको यो कम्पनीको ठेगाना बेलायतमा राखिएको छ। चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन्। (आइसिआइजेले पछि आफ्नो डेटाबेसमा रहेको ठेगानासम्बन्धी गल्ती सच्याएर ठेगाना सरस्वती सदन, ठमेल, काठमाडौँ राखेको छ। यससम्बन्धि अपडेटेड समाचार हेर्नुस्- पनामा पेपर्समा भेटिएका चार चौधरीको ठेगाना दक्षिण अफ्रिका होइन, काठमाडौँ नै)

दस्तावेजमा भएका अरु तीन चौधरीहरु शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरु हुन्। शीला भारतको उर्साइन डेभलपर्स प्रालिका डाइरेक्टर पनि हुन्।


नवाङ डोल्मा

कर्पोरेट जगतमा खासै नाम नसुनिएकी नवाङ डोल्माको रजिस्टर्ड ठेगाना ब्राजिलको छ। उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी सेयरहोल्डर छिन्। दुवै कम्पनीको लिङ्क हङकङसित जोडिएको छ।  

उमादेवी सिंहानिया

यिनको नाम पनि कर्पोरेट जगतमा खासै सुनिएको छैन। ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उनको नाम रहेको छ।  

सतीशलाल आचार्य

'नेपाल' देशमा नरहे पनि मलेसियाको कम्पनी एक्जियटासँग मिलेर एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर खरिद गरेका सतीशलाल आचार्यको नाम सिगापुर अन्तर्गत रहेको भेटिएको छ। आचार्यको नाम पनामा पेपर्समा नभई अफसोर लिक्सको डाटामा रहेको छ।  

 के हो पनामा पेपर्स?

ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ, मा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म 'मोस्साक फोन्सेका'बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो। यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो। मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्। यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो। 

कसरी भयो लिक?

एक वर्षअघि एक अज्ञात स्रोतले जर्मन मिडिया Süddeutsche Zeitung  सित सम्पर्क गरी यो कम्पनीका डाटा दिन थाल्यो। डकुमेन्टहरु थपिँदै जाँदा १ करोड १५ लाख वटा र साइज २.६ टिबीसम्म पुग्यो। यो पत्रकारिताले ह्यान्डल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको डाटा हो। Süddeutsche Zeitung  ले इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिज्न (आइसिआइजे) सँगको सहकार्यमा प्राप्त तथ्याङ्क विश्लेषण गर्ने निर्णय गर्‍यो। आइसिआइजेले एक वर्षसम्म ८० देशका १०० मिडियाका करिब ४ सय पत्रकारहरुसँग मिलेर डकुमेन्टहरुबारे रिसर्च गरेपछि आजदेखि एकैसाथ समाचारहरु सार्वजनिक गर्न थालेको हो।

गैरकानुनी हो?

अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ। खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell