PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

२ वर्षपछि आज पुगे सगरमाथाको चुचुरोमा ९ शेर्पा, उनीहरुको डोरी पछ्याउँदै भोलि विदेशी चढ्ने



रासस

२ वर्षपछि आज पुगे सगरमाथाको चुचुरोमा ९ शेर्पा, उनीहरुको डोरी पछ्याउँदै भोलि विदेशी चढ्ने

​काठमाडौँ : पोहोर वैशाख १२ को भूकम्प र त्यसअघिको वर्षमा हिमपहिरोका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण आजदेखि सुचारु भएको छ। 

नेपाली नौ जना शेर्पा आरोहीले आज साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट सगरमाथाको आरोहण गरेका हुन्।
 
पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालका अनुसार विभिन्न नौ कम्पनीका एक/एक जना गरी नौ जनाको समूह बनाएर उनीहरु गएका थिए। उनीहरु सगरमाथाको चुचुरोमा डोरी टाग्न जाने शेर्पा टोली (रोप फिक्सिङ टिम) हुन्। सगरमाथा चुचुरोमा आरोहण गर्दा पहिला शेर्पाले डोरी टाँग्छन्।
 
सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेपा (टिम लिडर), ग्याल्जेन दोर्जे शेर्पा, आङ्पेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङमा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन्।
 
प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो पुनः सगरमाथाको आरोहण सुरु भएको हो । सगरमाथा आधार शिविर नजिक गएको हिमपहिरो र गतवर्षको भूकम्पका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो । 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार अहिले धेरै विदेशी आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प चारमा छन्। उनीहरुले आज राति ११ बजेबाट माथितिर चड्न सुरु गरी बिहीबार बिहान ७ बजेसम्म चुचुरो पुग्नेछन्। आधार शिविरमाथि २८९ विदेशीसहित ७०० आरोही गएका छन्।
 
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वटा टिम आरोहणका लागि गएका छन्। रासस 

फोटो साभार : bernardvoyer.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell