PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​उखानटुक्का भन्दाभन्दै ग्यास हाजिर हुन्छ : सांसदको ठाडो प्रश्नमा प्रमको ठाडो जवाफ



मनोज सत्याल

​उखानटुक्का भन्दाभन्दै ग्यास हाजिर हुन्छ : सांसदको ठाडो प्रश्नमा प्रमको ठाडो जवाफ

काठमाडौँ : प्रधानमन्त्रीलाई सांसदहरुले आइतबार ठाडो प्रश्न सोधे। संसदमा नीति तथा कार्यक्रम माथिको छलफलपछि सांसदहरुले प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्न पाउँछन्। 

सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीलाई १ मिनेटको समयमा स्पष्टिकरण सोध्न समय दिइन्। त्यसक्रममा ३२ सांसदले प्रश्न सोधेका थिए। तर प्रधानमन्त्री ओलीले सबैको जवाफ भने दिएनन्। केही सांसदहरुको ठाडो प्रश्नमा उनले सिधा जवाफ फर्काए। पढ्नुस् सवाल जवाफ-

सांसद - फेवाताल अतिक्रमण भयो, संरक्षण कार्यक्रम खोई?
प्रधानमन्त्री - फेवाताल जसरी खुम्चँदै गएको छ। तालमा माथिबाट भूक्षय भएर माटो बग्दै फेवातालमा थुप्रँदै जाने भएको छ। माटो थुप्रँदै जाँदा अतिक्रमित हुँदै जाने लामो समयदेखि हुँदै आएको छ। यो सरकार उहिल्यै बनेको भए उहिल्यै रोक्न सकिन्थ्यो। धेरै बिग्रिसकेपछि यो सरकार यतिबेला बनेको छ, अब रोकिन्छ। 

सांसद : उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक भन्दै उखान भन्ने, नीति तथा कार्यक्रममा त्यस्तो छैन नि
प्रधानमन्त्री - एउटा रमाइलो छ, मैले लक्ष्मीप्रसाद देवकोटाको कविता भनेँ। त्यसलाई कतिपय माननीयले उखान टुक्का भनेको सुनियो। यो म कुनै दोष दिन्न - नेपाली भाषा के हो भन्ने कुराको ज्ञानको कारणले (रोकिदैँ ….) त्यस्तो भएको हुनुपर्छ। मैले त्यसमा धेरै केही भनिरहनु पर्दैन जस्तो लाग्दैन। 

सांसद : उखान मात्र भन्ने प्रधानमन्त्री? घरमा घरमा ग्याँस जोड्ने कुरा त छैन नि नीति तथा कार्यक्रममा?
प्रधानमन्त्री : दैलेखमा सम्भावित ग्यास खानीको अध्ययन गत वैशाख २५ देखि सुरु भएको छ। मुस्ताङ र काठमाडौँमा रहेको मिथेन ग्यासको अध्ययन अनुसन्धान भइसकेको छ। तीन वर्षभित्र उत्खनन् गरिसक्ने उद्योग मन्त्रालयको कार्यक्रम छ। यतापट्टी ध्यानाकर्षण गराउन चाहन्छु। 
उखान टुक्का भन्दाभन्दै ग्यास आउँछ, उखान टुक्का भन्दाभन्दै पेट्रोल आउँछ, के गर्नुहुन्छ? ग्यास ल्याउने भनेर उखान भन्यो, पेट्रोल अन्वेषण गर्ने भनेर उखान भन्यो, भन्दाभन्दै ग्यास पनि हाजिर, पेट्रोल पनि हाजिर हुन्छ। 

सांसद : राजविराजमा एयरपोर्ट के हुन्छ, हेलिप्याडको कुरा के हो? 
प्रधानमन्त्री : पहिला त्यहाँ नचलेर बन्द भयो। त्यसको अध्ययन गरेर प्राथमिकतामा राख्छौँ। एयरपोर्ट त्यहाँ पनि चाहिन्छ। अलिक पछि हुन्छ। 

साथीहरुले अस्ति नीति तथा कार्यक्रमको छलफलको क्रममा पनि भन्नुभयो - यसो एउटा चुना लगाएर खरानी छरेर 'एच'को आकार लेखेर हुने हेलिप्याड, यस्ता गफ चुट्ने, जनतालाई अल्मल्याउने, धोका दिने भनेर। 

त्यही पोहोर परारै गर्दिएको भए मैले यो झन्झट नै गर्नुपर्ने थिएन। उहिले नै यसो एचको आकार गाविस पिच्छे राखिदिएको भए, उद्दार गर्न सजिलो हुन्थ्यो। मान्छे उद्दार गर्न हेलिप्याड छैनन्। कुनै राहतका सामाग्री पुर्याेउने ठाउँ छैन। हामीले त्यसकारण हेलिप्याड निर्माण गर्नैपर्छ भनेका हौँ। 

गर्न र भन्न अलिक फरक के रहेछ भने - यसो बाटो अलिकति खनि दिएको भए त गाडी खुर्र जान्थ्यो नि। यस्तै हो। हाम्रो देश अलिकति चेतनामा आधुनिक अवधारणामा पछाडि परेको छ। 

सांसद - नीति तथा कार्यक्रममा भएको सनातन शब्द हटाउनुपर्यो । 
प्रधानमन्त्री - सनातन भनेको एउटाले मानेको अर्कोले नमान्ने भनेको होइन। एउटाको इतिहास हुन्छ अर्कोको हुँदैन भनेको होइन। आआफ्ना संस्कृतिको रक्षा सम्वर्द्धन गर्न, आआफ्ना आस्था र विश्वासलाई संरक्षण गर्न र मान्दै आएका धर्म र संस्कृति मान्न पाउने स्वतन्त्रता संविधानले दिएको छ। 

सांसद - भारतका लागि नेपाली राजदुत किन फिर्ता बोलाइयो?
प्रधानमन्त्री - नेपाल सरकारले भारतका लागि नेपाली राजदुतलाई फिर्ता बोलायो। कतिपय विद्धानले आफ्नो विद्धता फिटे - नेपाल भारत सम्बन्ध! 

कहाँबाट नेपाल-भारत सम्बन्ध आएर मुछियो? हाम्रो राजदूत हामीले फिर्ता बोलाएको हो। कामको सजिलोको लागि को मान्छेले कहाँ बसेर काम गर्दा देशलाई फाइदा हुन्छ? उहाँ नेपाली कांग्रेसको नेता, पूर्व मन्त्री, पूर्व माननीय - उहाँले योगदान गर्न सक्ने ठाउँहरु हुन्छन्। 

त्यो नेपालको आन्तरिक मामिला हो। यसलाई अरु कुरासँग जोड्ने कुरा हाम्रो परराष्ट्र सम्बन्धसँग मित्रराष्ट्रसँगको सम्बन्धसँग जोड्ने कुरा निरर्थक छ। कतिपयले त्यसलाई जोड्ने, विभिन्न प्रकारका हल्ला चलाउने र अब सुध्रँदै गएको र सुधारको माथिल्लो स्तरमा पुगेको सम्बन्धलाई बिगार्न खोज्ने कताकति टिप्पणीहरु पनि देखिन्छन्। त्यसबाट प्रभावित नहुन माननीय ज्यूहरुमा आग्रह गर्न चाहन्छु। 

सांसद : बैंकमा जाँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिँदैन?
प्रधानमन्त्री : यस सम्बन्धी तयारी नभइकन नीति तथा कार्यक्रममा आउने बित्तिकै प्रमाणपत्र लिएर ऋण देउ त भनेर गयो भने केही तरिका बिना बैंकले ऋण दिँदैन। त्यसको आफ्नो प्रक्रिया हुन्छ। त्यसको आफ्नो तयारी हुन्छ। यसमा गइन्छ। माननीय ज्यूले भर्खर नीति तथा कार्यक्रममा आयो, अब प्रक्रिया निर्धारण गरिन्छ, कसरी प्राप्त गर्ने भन्ने, त्यसपछि प्राप्त हुन्छ। 

सांसद - स्थानीय निकाय निर्वाचन वैशाखमा गरौँ
प्रधानमन्त्री : बैशाखमा गरौँ भन्नु नराम्रो होइन। तर लामो समयदेखि स्थानीय निकाय नहँदा भ्रष्टाचार बढ्यो, सुशासन भएन भन्नुहुन्छ त्यसैले जतिसक्दो छिटो गर्नु राम्रो हो। मंसिरमै गर्नु राम्रो हो। असार, साउनमा, भदौमा पानी पर्छ। गर्ने भनेको कार्तिक अन्तिमदेखि बैशाखमै हो। 

सांसद - शान्ति प्रक्रियामा किन ध्यान पुगेन? 
प्रधानमन्त्री : देश १० वर्षे हिंसाको चपेटबाट गुज्रियो। त्यसलाई समाधान गर्न शान्ति प्रक्रिया अपनायौँ। मानवताविरुद्धको गम्भीर अपराधमा दण्डहिनतामा जानु हुँदैन। तर हामी शान्ति प्रक्रियाबाट आएको हुनाले शान्ति प्रक्रियाको विषयमा सामाजिक अपराध संहिता र दण्ड संहिताले मात्र हेर्नु हुँदैन। संक्रमणकालीन न्याय अनुसार हेर्नुपर्छ। शान्ति प्रक्रियालाई हामीले बिर्सन्न हुन्न। 

सांसद - भूकम्प पीडितले रकम पाएनन्।
प्रधानमन्त्री - अब यो वाद प्रतिवाद गरे जस्तो किन गर्ने।  भूकम्प पीडितलाई दिने रकमको सम्झौता अगाडि बढेको छ। सम्झौता भए लगत्तै रकम ब्याङ्कमा दाखिला हुन्छ। र, सम्बन्धित व्यक्तिले त्यहाँबाट लिने काम गर्छ। 

सांसद - लक्ष्यविहीन नीति तथा कार्यक्रम
प्रधानमन्त्री : नीति तथा कार्यक्रमको प्राथमिकता संविधान कार्यान्वयन र भूकम्पपछिको पुर्ननिर्माण हो भनेका छौँ। साथै समृद्धिका लागि स्वाधीन अर्थतन्त्र र पूर्वाधार विकासको पक्षहरु प्राथमिकताका विषयहरु हुन्।

सांसद - एनसलेले ४० अर्ब पुँजिगत लाभकर तिर्नुपर्ने छ, प्रधानमन्त्रीको दृष्टिकोण के हो?
प्रधानमन्त्री - खुब चर्चा चल्ने गर्‍यो एनसेलको। यस सम्बन्धमा कर कार्यालय छ, कर अधिकृत छन्, करका डाइरेक्टर छन् र कर सम्बन्धी कारोबार त्यहाँबाट गर्ने हो। 

म पनि अलि-अलि अखबारमा हेर्ने गरेको छु। तिर्नुपर्छ, तिर्नुपर्दैन भन्ने आयो। सरकारले तिर्नुपर्छ भन्ने दृष्टिकोण लियो, तदनुसार कर तिराउने बाटोमा गयो र कर तिराइएको छ। 

यो मन्त्रिपरिषद्को वा प्रधानमन्त्रीको पनि विषय होइन। यो सम्बन्धित कर कार्यालयको विषय हो, कर अधिकृतहरुको विषय हो। 

अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाताको विषय होला अथवा राजस्व सम्बन्धि कर सम्बन्धि डाइरेक्टरको अफिसको काम होला। त्यसले उपयुक्त ढंगले काम अगाडि बढाएको छ। कर लिएको छ भन्ने म ठान्छु। 


प्रधानमन्त्रीले सांसदहरुलाई जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएको थियो। त्यसअघि कांग्रेसले राखेको संशोधन फिर्ता लिने या नलिने भन्ने प्रश्नमा जवाफ दिने क्रममा कांग्रेस सांसद रमेश लेखकले 'प्रधानमन्त्रीले उखान टुक्का मात्रै भन्छ भन्नु भन्दा हास्य व्यङ्गको सङ्गालो नै भन्नुपर्छ, भन्दै व्यङ्ग गरे। तर सभामुखले विषय बाहिर नजान रुलिङ गरेपछि उनी रोकिए। 

बैशाख २६ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम चार दिन लामो छलफलपछि शुक्रबार पारित भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell