PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गलहत्याइएका राजदूतको स्वदेश फिर्ती : आरोप पुष्टि गर्न चुनौति



रमेश वाग्ले

गलहत्याइएका राजदूतको स्वदेश फिर्ती : आरोप पुष्टि गर्न चुनौति

काठमाडौँ : आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा पत्रकार सम्मेलन थियो। बिहान साढे ११ बजेको समय दिएकाले करिब पौने १२ बजेसम्म अधिकांश पत्रकार त्यहाँ पुगिसकेका थिए। करिब डेढ घण्टापछि मात्रै प्रतिक्षाको घडी समाप्त भयो। सरकारले भारतबाट फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्याय आइपुग्दै थिए।

अघिल्लो सरकारले राजनीतिमा सक्रिय रहेका उनलाई जसरी नियुक्त गरेको थियो केपी ओली नेतृत्वको सरकारले त्यसैगरी हटायो। त्यसैले उनलाई फिर्ता बोलाएको प्रसङ्ग बहसको विषय नहुनुपर्ने। तर, सरकारले उनलाई फिर्ता बोलाउँदै गर्दा केही आरोपहरु लगायो जसले सबैको ध्यान तान्यो। सरकारका मन्त्रीहरुले नै उनलाई सरकार ढाल्न लागिपरेको आरोप लगाए।

नेपाल सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर र सुदृढ बनाउने भूमिका दिएको व्यक्ति कसरी सरकार नै ढाल्ने काममा प्रयोग भयो? के राजदूत भनेको त्यस्तै पावरफूल पद हो? सरकारले लगाएका आरोपका आधारमा यस्तै यस्तै प्रश्नहरुको जवाफ कुर्न पत्रकारहरु विमानस्थल पुगेका थिए।
 
विमानस्थलमा पुगेपछि देखियो फरक दृश्य। कांग्रेसको केन्द्रीय सदस्यमा बहालै रहेका दीपकुमार उपाध्यायलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि राजदूत नियुक्त गरेर विदा गर्दा उनलाई 'बाई' भन्ने खासै थिएनन्। तर राजदूतबाट गलहत्याइँदा उनलाई स्वागत गर्नेको भिड प्रशस्तै थियो।

उपाध्याय चढेर आएको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा ल्यान्ड हुन केही ढिलो भयो। त्यसैले पत्रकारले पट्यारलाग्दो प्रतीक्षा गर्नुपर्‍यो। जति ढिला हुँदै जान्थ्यो, हात-हातमा खादा र माला बोकेकाहरु थपिइरहन्थे। उनको स्वागत गर्न आउने देख्दा लाग्न सक्थ्यो - कोही भर्खरै चुनाव जितेर फर्कँदै छ।

दिउँसोको सवा एकभन्दा केही बढी भइसकेको थियो अनिमात्र प्रतीक्षा सकियो। केही कार्यकर्ता उनी बाहिरिनुअघि नै भित्रैसम्म पुगेका रहेछन्। भित्रै उनलाई माला र खादा पहिर्‍याउन थालिहाले। भित्री ढोकाबाट बाहिरसम्म आइपुग्दा उपाध्यायको अनुहार झण्डै खादा र मालाले पुरिसकेको थियो। बाहिर लाइनमा बसेकाहरु धेरैले त न खादा लगाउन सके, न हातमा बोकेको बुके नै उनीसम्म पुर्‍याउन सके।

बल्ल पालो आयो पत्रकारको। प्रश्न लक्ष्यमै उभियो। के तपाईँले सरकार ढाल्न खोजेको हो? अनि कांग्रेसलाई सहयोग गर्न खोजेको हो?

उनले उल्टै प्रतिप्रश्न गरे, 'एउटा राजदूतले दिल्लीमा स्वीच थिचेर सरकारको जग हल्लन्छ?'

सबै अवाक्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदा नै राजदूत नियुक्त भए पनि पदबाट राजीनामा दिएरै राजदूत बनेको उनले सुनाए।

'राजनीतिक रङ देखिन्छ भनेर नै आफ्नै निर्वाचन क्षेत्र समेत नगएको' उदाहरण दिँदै उनले भने,  'नेपाल र भारतका परराष्ट्र मन्त्रालय र अन्य ठाउँमा रेकर्ड खोज्न र सरकारको आरोप अध्ययन गरिदिन पत्रकारहरुलाई अनुरोध गर्छु।'
 
'हाम्रोमा आरोप लगाइदिएपछि हुने। त्यसलाई पुष्टि गर्नु नपर्ने,' उपाध्यायले थपे,  'त्यसलाई पुष्टि गर्नुभयो भने म सामाजिक जीवन त्याग गर्न तयार छु। राजनीतिबाट अलग रहन तयार छु।'

सरकारका कतिपय मन्त्रीहरूले लगाएको आरोप राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै उनले आन्तरिक राजनीतिको प्रतिस्पर्धाले दुई देशबीचको सम्बन्ध बिग्रन नहुने पनि सुझाए।
 
'कतिपय मित्रका टिप्पणी गैर जिम्मेवारपूर्ण र राजनीतिक रुपमा पूर्वाग्रही छन्,' उनले भने, 'तर त्यसलाई पुष्टि गर्न तपाईँहरुले रेकर्ड खोज्ने काम गरिदिनुहोला।'

उनले भारतमा काम गर्दाका असहज अनुभव पनि साटे।

'मेरो भारत बसाइमा धेरै तीता मीठा अनुभवहरु पनि सँगालेको छु, देशकै प्रतिनिधित्व गर्दै धेरै क्रियाशीलता पनि लिएको छु,' उनले भने, 'नाकाबन्दी भयो, भारत सरकारलाई गएर वीरगञ्ज बाहेकका नाका प्रयोग गरौं केही मूल्यमा फरक परे बेहोर्न तयार छौं भनेको छु।'

आपूर्ति सहज नभएर 'सरकार सरकारबीच द्वन्द्व हुँदा नेपाली जनताले भोकै बस्नुपर्ने गरी के गल्ती गरेका छन्?' भनेर झगडासमेत गरेको उनले सुनाए। उनले राजनीतिक तहमा 'डिल' गर्न सक्ने व्यक्तिले मात्र भारतको राजदूत चलाउन सक्ने भन्दै अब पनि विचार गरेर नै सिफारिस गर्नुपर्ने सरकारलाई सुझाव दिए।

त्यसो भए सरकारको कदमले अहिले भारतसँगको सम्बन्ध बिग्रियो अथवा सुध्रियो त?

उपाध्यायसँग रेडिमेड जवाफ थियो। भने, 'दुई देशबीचको सम्बन्ध भनेको निरन्तर चल्ने प्रक्रिया हो। यो कुनै जुवाको खाल हैन। जुन एकले हारेपछि सकिने र अर्कोले पूरा जित्ने।' (फोटो : रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell