PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

अरुण सिंघानिया हत्याका एक आरोपी कारागार चलान



रासस

महेन्द्रनगर (धनुषा) : जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका सुटर मनक लामालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
 
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोसीले  सिंघानिया हत्याका अभियुक्त लामालाई आइतबार नै जिल्ला अदालत धनुषामा बुझाएको जानकारी दिए। जिल्ला अदालत धनुषाका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले लामालाई थुनामा पठाउन आदेश दिएको हो।
 
जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपी लामालाई आजै सार्वजनिक गरेको छ। सिंघानियाको हत्या घटनामा संलग्न रही फरार रहेका लामालाई प्रहरीले विशेष गोप्य सूचनाका आधारमा गत शुक्रबार विराटनगर उपमहानगरपालिका वडा नं २० स्थित बर्मा टोलबाट पक्राउ गरेको थियो।
 
मनक लामा भनिने ३० वर्षीय मनकलाल थोकर धनुषाको धनुषाधाम नगरपालिका–६ का बासिन्दा हुन्।  हत्यापछि उनी वैदेशिक रोजगारको सिलसिलामा मलेसिया भागेका थिए। सिंघानिया हत्याकाण्डको मस्ट वान्टेड सूचीमा रहेका लामा मलेसियाबाट फर्केपछि भारतमा लुकीछिपी बस्दै आएका थिए।
 
सिंघानियालाई गोली प्रहार गर्ने मुख्य सुटर लामा रहेको प्रहरी उपरीक्षक जोसीले बताए। अभियुक्त लामाले पनि आफू नै अरुण सिंघानियालाई गोली प्रहार गरी हत्या गरेको पत्रकार सम्मेलनमा स्वीकारेका छन्। सोही घटनामा संलग्न प्रतिवादी एकलाल भनिने योगेन्द्र सहनीले आफूलाई एक जनालाई मार्नु त्यसका लागि पैसा दिन्छु, कुनै चिन्ता लिनु पर्दैन भन्दै हतियार दिई सिंघानियालाई शिवचोकमा गोली प्रहार गरी हत्या गरेको बताए।
 
आफूले घटनाका मुख्य आरोपी धनुषा क्षेत्र नं ४ बाट निर्वाचित निलम्बित सांसद सञ्जय साहलाई नचिनेको बयान दिएका छन्। आफूले घटनाका फरार प्रतिवादी सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव, एकलाल सहनी, चन्द्रदीप यादवलाई मात्रै चिनेको बताए। गोली हानेर हत्या गरेबापत रु १० लाख रकम दिन्छु भनेकामा हालसम्म आफूले रकम नपाएको लामाले जिकिर गरेका छन्। घटनापश्चात् एक सरकारी गाडीमा चढेर आफू धनुषाको किसाननगरसम्म पुगेको लामाले बताए । आफूलाई हतियार चलाउन नआए पनि आफ्नो निशाना ठीक रहेको बताउँदै हतियार दिएर यसरी चलाउनुपर्छ भनेर उनीहरुले आफूलाई सिकाएको र आफू रक्सी खाएर मातेको अवस्थामा सिंघानियाको हत्या गरेको लामाको भनाइ छ। हत्या गर्न डराउनु पर्दैन तिमीलाई सञ्जय दाइ छँदै छ भनेर उनीहरुले आश्वासनसमेत दिएको लामाले बताएका छन्। 
 
सो घटनामा संलग्न अभियोगमा धनुषा निलम्बित सांसद सञ्जय साह, मनक लामा, रामविनोद यादव, योगेन्द्र सहनी, चन्द्रदीप यादव, ओमप्रकाश यादव, मुकेश चौधरी, विजय कुशियैत, अंशी राइन, पवन लामा र रामकरण यादवलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर छ । घटनाका मुख्य आरोपी रामविनोद यादव हालसम्म फरारकै अवस्थामा छन् ।
 
उक्त मुद्दामा सञ्जय साह ‘टकला’ ले बयान दिन आलटाल गरेपछि उनको बयान हुन सकेको छैन। पक्राउ परेकामध्ये अंसी राइनको बयान हुन बाँकी रहेको छ। चन्द्रदीप यादव र एकलाल सहनी पुर्पक्षका लागि थुनामा राखिएका छन्। जनकपुर टुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको २०६६ फागुन १७ गते होली पर्वका दिन साँझ जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell