
काठमाडौं : निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केही बेरअघि झडप भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका संघीय गठबन्धनका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। बालुवाटारको नेशनल कलेजअगाडि भएको झडपपछि प्रदर्शनकारी उग्र भई नाराबाजीमा उत्रिएका छन्।
'कि अधिकार बराबर, कि आन्दोलन सरासर', 'हिमाल पहाड तराई, कोही छैन पराई' भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध उत्तेजित नाराबाजी गरिरहेका छन्।
दुई दिन सिंहदरबार घेराउको कार्यक्रम सकेपछि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको गठबन्धनले बालुवाटार घेराउ गर्ने निर्णय गरेको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजै प्रधानमन्त्री निवासको चारैतिर निषेधित क्षेत्र तोकेको छ।
भिड अनियन्त्रित बन्न सक्ने भन्दै अहिले सुरक्षा प्रबन्ध थप कडा बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटिइरहेका छन्।
आइतबार र सोमबार सिंहदरबार घेराउ गर्ने कार्यक्रमअन्तर्गत माइतीघर मण्डला र हनुमानथानमा प्रदर्शन गरेको थियो।
आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै आज बिहान १० बजेदेखि उसले बालुवाटार घेराउलाई जारी राखेको छ। सरकारले आफ्ना माग नसुनेकाले प्रधानमन्त्री केपी ओलीमाथि नै प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास घेराउको कार्यक्रम तय गरिएको गठबन्धनको भनाइ छ।