काठमाडौं : सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसीहरु लखेटिएर काठमाडौं आएको नभई प्रधानमन्त्रीलाई लखेट्न राजधानी छिरेको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ कार्यक्रममा बोल्दै नेता कर्णले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो 'दुईचार जना मान्छे आएर गरेको ट्राफिक जामको तमासा धेरै दिन नचल्ने बताएका थिए बताएका थिए। मधेसमा आन्दोलन गरेकाहरुलाई त्यहाँका जनताले बहिस्कार गरेपछि काठमाडौं आएको ओलीको आरोप थियो।
‘एउटा लक्ष्मणलाल कर्णमात्र आएको भए लखेटिएर आएको हुन्थ्यो,’ उनले भने, ‘तर यहाँ त मधेसी, शेर्पा, थारु, मगर, राई, लिम्बुहरु सबै आएका छन्। आदिवासी, जनजातिहरुले मधेसमा, लिम्बुवानमा, थारुवानमा, मगरातमा आन्दोलन गर्दा काठमाडौंको चारभञ्ज्याङले नसुनेकैले संघर्ष काठमाडौंकेन्द्रित भएको उनले बताए।
‘पटकपटक चिच्याउँदा पनि चारभञ्ज्याङले आवाज सुनेन,’ सहअध्यक्ष कर्णले भने, ‘अब भने यसको कानैमा टाँस्सिएर बोल्न आएका छौं।’
सरकारले बोलाउको वार्तालाई उनले 'हवाई फायर'को संज्ञा दिएका छन्। मूल मुद्दामा कुरा हुनुपर्नेमा यतिन्जेलको वार्ता चियाबिस्कुटमै सिद्धिएको कर्णले बताए। ‘कहाँ, कहिले, कुन दिन वार्ता हुने भनेर कुनै जानकारी आउँदैन,’ उनले थपे, ‘अब निर्णायक वार्ताबाहेक त्यत्तिकै बस्ने कुरा हुँदैन।’
उनले उपप्रधानमन्त्री कमल थापा नेतृत्वको वार्ता टोलीसँग बस्नुको औचित्य नहुने बताए। संघीयताविरोधी र राजतन्त्रको पक्षमा वकालत गर्ने थापाको टोलीसँग वार्ता हुनै नसक्ने उनले जिकिर गरे। आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि थापाले पत्र पठाएका थिए। पत्रलाई आफूहरुले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलनरत नेताहरुले अस्वीकार गरेका छन्।