PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गठबन्धनले थप १० दिन राजधानीमा आन्दोलन चर्काउने, वीरगन्ज र पोखरामा पनि जनप्रदर्शन



रासस

गठबन्धनले थप १० दिन राजधानीमा आन्दोलन चर्काउने, वीरगन्ज र पोखरामा पनि जनप्रदर्शन

 काठमाडौँ : राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय सङ्घीय गठबन्धनले १० दिनको थप आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।
 
गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन चर्काउने निर्णय गरेको हो।

नयाँ संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनले आन्दोलनलाई अझ सशक्त बनाउने बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए। विरोधका कार्यक्रम दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गरिने भएको छ।
 
राजधानीकेन्द्रित आन्दोलनमा गठबन्धनले जेठ ६ गते ललितपुरको लगनखेलमा, ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुरको न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ।
 
त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा जनप्रदर्शन हुने गठबन्धनले जनाएको छ। १७ गते पोखरामा पनि तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शनको कार्यक्रम तोकिएको लालले जानकारी दिए।
 
राजधानीकेन्द्रित आन्दोलनका क्रममा दुई दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले आज शान्तिबाटिका कोणसभाको कार्यक्रम राखेको छ। 

सत्ता पक्षलाई थप दबाब दिन जेठ १ गतेदेखि गठबन्धन राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell