कोलम्बो : तीन दिनदेखि लगातार परेको झरीपछि गएको पहिरोमा पुरिएर श्रीलंकामा १ सय ५० भन्दा धेरैको ज्यान गएको छ।
प्रकोप व्यवस्थापन अधिकारीले मध्य श्रीलंकाको पहिरोग्रस्त क्षेत्रमा उद्दारपछि मृत्यु हुनेको संख्या सार्वजनिक गरेका हुन्।
सरकारी तथ्याङ्कअनुसार ठूलो झरीका कारण १ लाख ९६ हजार मानिसलाई घरबारबिहीन बनाएको छ। पछिल्लोपटक १९ शव निकालेका उद्दारकर्ताले औपचारिकरुपमा भने ३५ जनाको मृत्यु भएको जनाएका छन्।
३ सय ५० भन्दा धेरैलाई रेस्क्यु अपरेसनबाट बचाउन सकिएको छ। उद्दार अहिले अरनायकमा केन्द्रित गरिएको छ जुन कोलम्बोबाट १०० किलोमिटर दक्षिण-पूर्वमा पर्छ।
अरनायकमा पुगेर फर्केका श्रीलंकन रेडक्रस अधिकारीले सरकारले दिएको तथ्याङ्कभन्दा धेरै जनाको मृत्यु भएको बताए।
'त्यहाँ मानिसहरुसँग कुरा गर्दा करिब ३ सय देखि ४ सय मानिसहरु पहिरोमा परेर मरेका छन्,' श्रीलंका रेडक्रस सोसाइटीका प्रवन्ध निर्देशक नेभिली नानायकाराले रोयटर्ससँग भने।
प्रहरीले अर्को ठाउँ बुलाथकयपितियामा पनि पहिरोले १६ जनाको ज्यान लिएको जनाएको छ।
सैनिक प्रवक्ता जयनाथ जयवीराले सैनिकहरुले १३ वटा शव निकालेको जानकारी दिए। बुधबार बिहान १ सय ५० जनाको उद्दार गरेको पनि उनले जनाए। विस्थापित भएको क्षेत्रमा ६ वटा क्याम्प खडा गरिएको सेनाले जनाएको छ।
फोटो : AFP