PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सगरमाथा आरोही बीचैमा रोकिए, निरन्तर हावा चलेपछि आरोहणमा समस्या



रासस

सगरमाथा आरोही बीचैमा रोकिए, निरन्तर हावा चलेपछि आरोहणमा समस्या

काठमाडौँ : मौसम प्रतिकूल भएपछि दुई दिनदेखि सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हिँडेका आरोही रोकिएका छन्।
 
मौसममा उतारचढाव आएपछि आरोहीलाई समस्या भएको पर्यटन विभागले जनाएको छ।
 
सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण मङ्गलबार र बुधबार कुनै आरोहण नभएको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
 
उनका अनुसार धेरै आरोहीहरु क्याम्प नम्बर दुई, तीन र चारमा छन्। उनीहरु बिहीबार, शुक्रबार र शनिबार चुचुरोमा पुग्नेछन्। केही आरोही भने अहिले आधार शिविरमै छन्। वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको सगरमाथा आरोहण निरन्तर ६ दिनसम्म चलेको थियो।
 
आरोहणको ६ दिनको अवधिमा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेका थिए। वैशाख ३१ गतेमात्रै १३ नेपालीसहित २७ नेपाली सगरमाथाको चुचुरोमा पुगेका थिए। विभागको अनुमानअनुसार आज ५८ नेपाली र ४१ विदेशी गरी ९९ आरोही चुचुरोमा पुग्ने योजनामा थिए। तर कुनै आरोहण भएन।
 
बिहीबार ११० नेपाली र ८७ विदेशी, शुक्रबार ७० नेपाली र ५६ विदेशी तथा शनिबार २१ नेपाली र २१ विदेशी गरी जम्मा ४६४ आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान छ।  
 
प्राकृतिक विपत्तिका कारण सन् २०१४ र २०१५ मा सगरमाथा र अन्य हिमालको आरोहण रोकिएको थियो। सन् २०१६ को वसन्त ऋतुमा भएका सफल आरोहणले विश्वको ध्यान केन्द्रित गरिरहेको छ।
 
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन्।
फोटो : pinterest.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell