PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आफ्नो हैसियत खोज्दैछ कांग्रेस, नयाँ मुख्य सचिव लागे खोजविनमा



रमेश वाग्ले

काठमाडौ : नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा पुरानो र अव्यवस्थित पार्टी भनेर आरोप लाग्ने गर्छ। सबैभन्दा पुरानो पार्टी भएर पनि अभिलेखदेखि अहिलेको अवस्था समेत अद्यावधिक नगर्ने पार्टीका रुपमा चिनिन्छ कांग्रेस।

नचिनियोस् पनि कसरी! आफ्नै पार्टीका जिल्ला कार्यसमिति मध्ये कतिको आफ्नै कार्यालय छ कतिको छैन भन्ने यकिन तथ्यांक समेत कांग्रेससँग अद्यावधिक छैन। क्रियाशील सदस्यतामा पार्टी छोडेको, घोषणा गरेर अर्कै पार्टीको अध्यक्ष रहेका व्यक्ति देखि मृत्यु भएर कार्यालयबाट आफैले श्रद्धाञ्जलि दिएका व्यक्तिसम्मको नाम समेत समेटिएको छ।

यस बाहेकका थुप्रै अव्यवस्था कांग्रेसभित्र छ। अघिल्लो कार्यकालमा केन्द्रीय कार्यसमिति चौथो वर्षको अन्तिम दिन मात्र पूर्ण भएको थियो भने विधानले तोकेभन्दा धेरै ढिला गठन भएका विभागहरु पनि प्रमुखहरुले नै राजिनामा दिँदा क्रियाशील हुन सकेनन्।

वर्तमान सभापति शेरबहादुर देउवा निर्वाचित भए पछि पनि विधानले दुई महिना भित्र पूर्णता दिने भने पनि विभाग र समितिले पूर्णता पाएका छैनन्।

यति अव्‍यवस्थित कांग्रेसमा अहिले भने व्यवस्थित कांग्रेस अभियान सुरु भएको छ। अहिले कांग्रेसको यो पहिचान फेर्ने गृहकार्यमा जुटेको छ नयाँ नेतृत्व। यो पहिचान फेर्ने काममा लागेका छन् पार्टी सभापति शेरबहादुर देउवा र उनैले नियुक्त गरेका मुख्य सचिव कृष्ण पौडेल।

देउवाको निर्देशनमा मुख्य सचिव पौडेलले जिल्ला सभापतिहरुसँग जिल्लाको अहिलेको अवस्था, गाउँ कार्यसमिति देखि नै मातहतका सबै कार्यसमितिको विवरण र पार्टीको जिल्लामा रहेको सम्पत्तिको विवरण माग गरेका छन्। उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गत अध्यापन पेशाबाट कांग्रेसको मुख्य सचिवमा आइपुगेका पौडेलले पहिला अभिलेख व्यवस्थित गरेर मात्र संगठन व्यवस्थित हुने बताउँछन्।

'पहिलो चरणमा त अभिलेख व्यवस्थित र अध्यावधिक बनाउन लागि परेको छु,' मुख्यसचिव पौडेलले भने, 'त्यसपछि आइटी व्यवस्थित गर्ने काम सुरु हुन्छ।' उनले त्यसबाहेक कार्यालय व्यवस्थापनको काम पनि जारी रहेको बताए। सभापति निर्वाचित भएपछि पुरानो सभापतिको कोठा र कुर्सी प्रयोग नगरेका देउवाले पौडेललाई मुख्य सचिव नियुक्त गर्नु अगावै वास्तु मिलाएर कार्यालय निर्माण सुरु गराइसकेका थिए।

यस बाहेक काग्रेसले १३औं महाधिवेशनदेखि नै क्रियाशील सदस्यहरुको अभिलेख वेबसाइटमा राख्न सुरु गरेको थियो। जिल्ला कार्य समितिको अभिलेख पनि वेबसाइटमा नै राख्न लागेको छ।

कस्तो हुन्छ अबको कांग्रेस ?

कांग्रेसको कुन जिल्लामा कार्यालय छ र कुन जिल्लामा छैन भन्ने समेत केन्द्रीय कार्यालयमा अभिलेख छैन।

'मैले भर्खरै मात्र काम गर्न थालेको छु। कुन जिल्लामा कार्यालय छ कुन जिल्लामा छैन भन्ने अभिलेख पनि कार्यालयमा भेट्न सकिनँ,' उनले भने, 'अबको तीन चार महिनामा मैले हैन तपाईँ सबैजनाले त्यो सूचना वेबसाइटमा पाउने गरी काम गर्ने प्रयत्नमा म लागिरहेको छु।'

उनले अहिले कार्यालयका अधिकांश कर्मचारी त्यही काममा लागिरहेको भन्दै स्वदेशदेखि विदेशसम्मका सबै कार्यालयको विवरण संकलन र व्यवस्थित गरिसक्न त्यति समय लाग्ने उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell