काठमाडौं : पार्टी एकता प्रक्रियामा असहमति राख्दै आएका नेकपा माओवादीका अध्यक्ष मातृका यादव पनि अन्तिम समयमा सहमत भएका छन्।
एकताका लागि सहमत गराउन अन्य माओवादी नेताहरुले गरेको कसरतपछि उनी सकारात्मक देखिएका हुन्। आजै बबरमहलमा रहेको कार्की पार्टी प्यालेसमा विभाजित विभिन्न माओवादी समूहको एकता घोषणा हुँदै छ।
विभिन्न चरणमा भएको छलफलपछि यादवले एकतामा सामेल हुने निर्णय गरेको एकता संयोजन समितिका सदस्य वसन्त घर्ती मगरले जानकारी दिए।
पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ।
एकतापछि पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुने बताइएको छ। १ सय सदस्य पछि थपिने गरी आज भने ५ सय ९९ सदस्य रहेको केन्द्रीय समिति घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका मणि थापाले बताए।
सँगसँगै रहेर १० वर्ष सशस्त्र युद्ध लडेका माओवादी नेताहरु शान्ति प्रक्रियापछि विभाजित भएका थिए। मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी खडा गरेपछि विभाजन सुरु भएको हो। त्यसपछि मातृका यादवले नेकपा माओवादी, मोहन वैद्यले क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी र केही दिनअघि मात्रै रामबहादुर थापा बादलले आफ्नो नेतृत्वमा पुनर्गठित क्रान्तिकारी माओवादी पार्टी खडा गरेका थिए।