काठमाडौं : सोसल ड्रामा सिनेमा ‘कालो पोथी’लाई फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडमा पाइरेसी बिमा गरिदिएको छ।
निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले इन्स्युरेन्स गरिदिएको हो। सोही कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ।
‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि,’ भामले भने। केही महिनायता ठूलो बजेटका पाँच नेपाली सिनेमा पाइरेसी भएको बेला कालो पोथी निर्देशकको यस्तो अभिव्यक्ति आएको हो।
साढे तीन करोड बजेटको सिनेमामा जर्मनी, फ्रान्स र स्वीटजरल्यान्ड समेतको संयुक्त लगानी छ। जेठ २१ गते रिलिज हुने फिल्मले सशस्त्र युद्धताकाको सेटिङमा दुई बालकको मित्रताको कथा पेश गर्छ।
सिनेमालाई हलिउड रिपोर्टरलगायतका प्रतिष्ठित मिडियाले राम्रो समीक्षात्मक रेटिङ दिएका छन्। भेनिस फिल्म फेस्टिभलको क्रिटिक्स सप्ताहन्तमा छानिएपछि छिरिङ रितार शेर्पा निर्मित फिल्मको चर्चा चुलिएको हो।