PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

मध्यरातसम्म पप्पुको मदिरा पार्टी, नेतादेखि पत्रकारसम्म, क-कसले गरे बहिस्कार?



पहिलोपोस्ट

मध्यरातसम्म पप्पुको मदिरा पार्टी, नेतादेखि पत्रकारसम्म, क-कसले गरे बहिस्कार?

  • कृष्ण ओली
नेपालगन्ज : राँझा-जमुनाहा सडक खण्ड निर्माण गुणस्तरहीन भएको भन्दै विरोध भइरहेका बेला ठेकेदार कम्पनीले मध्यरातसम्म
भव्य मदिरा पार्टी आयोजना गरी कमजोरी लुकाउने प्रयास गरेको छ।
 
केही समयअघि अन्तरपार्टी सञ्जालले छलफल गरी सडक निर्माण गुणस्तरीय नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो।
निर्माण प्रक्रियामा सुधार गर्नुको साटो विरोध गर्नेहरुलाई नै बोलाएर कम्पनीले मदिरा पिलाइदिएको हो। पार्टीमा सरकारी अधिकारी र सरोकारवाला व्यक्ति डाकिएको थियो।
 
तोकिएको समयभन्दा बढी समय खर्चिए पनि सडक गुणस्तरप्रति धेरैजसो सन्तुष्ट छैनन्।
 
नेपालगन्जस्थित होटेल सिटी प्यालेसमा सडक निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनले आयोजना गरेको पार्टी बुधबार राति अबेरसम्म चलेको थियो। साढे ८ बजेबाट सुरु भएको पार्टीमा सहभागीहरु मध्यरातसम्म मदिरामा झुमिरहेको एक अधिकारीले जानकारी दिए।
पार्टीमा सडक कसरी पास गराउने र काम सम्पन्नको अनुमति कसरी लिने भन्ने विषयमा छलफल भएको थियो। सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजेश यादवले भने सडक निर्माण डिजाइनअनुसार नै भएको दाबी गरे। उनले सडक ‘उचित’ रहेको प्रस्ट्याइरहँदा अन्य सहभागीहरु राता आँखा पार्दै सहमति जनाइरहेका थिए। पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण प्रसाद रौनियारको पक्षमा बोल्दै यादवले सडक कुनै पनि हालतमा ठिक रहेको प्रस्ट पार्न आफू प्रतिबद्ध रहेको बताएका थिए।
 
उक्त पार्टीमा सभासद मैकुलाल वाल्मीकि, बादशाह कुर्मी लगायतको सहभागिता रहेको थियो। केही राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका केही अगुवा, व्यवसायी, सरोकारवाला निकायका पदाधिकारी लगायत सहभागी रहेको स्रोतले बतायो।
 
२९ मार्च २०१३ मा २४ महिनामा पूरा गर्ने गरी सम्झौता भएको सडकको काम एक वर्षपछि धकेलिएको छ। गुणस्तरमा समेत गुनासो आइरहेका बेला पप्पुको मदिरा पार्टीले नेपालगन्जवासीलाई अझै आक्रोशित बनाएको छ।
 

 -कसले गरे पार्टी बहिस्कार? 

मदिरा पार्टी नै आयोजना गरी गल्ती ढाकछोप गर्न खोज्ने ठेकेदार कम्पनीको नियत बुझेपछि केही सरकारी अधिकारी र नागरिक अगुवाले उक्त पार्टी बहिस्कार गरेका छन्। गलत कामलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहायक जिल्ला अधिकारी गञ्जबहादुर एमसी, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भीमकिरण बोगटी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, स्थानीय शान्ति समिति संयोजक तेजविक्रम शाह, अधिवक्ता प्रह्लादबहादुर कार्की, पत्रकार शुक्रऋषि चौलागाई, नागरिक अगुवा कृष्णमान श्रेष्ठ, सुशील नरसिंह राणा, नमस्कार शाह लगायतले पार्टी बहिस्कार गर्दै विरोध गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell