PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेसले ३० सालमा हाइज्याक गरेको प्लेन वीपी संग्रहालयमा राखिने



रासस

कांग्रेसले ३० सालमा हाइज्याक गरेको प्लेन वीपी संग्रहालयमा राखिने

नेपालगन्ज : एकदलीय पञ्चायती शासनविरुद्धको नेपाली काँग्रेसले गरेको क्रान्तिका समयमा अपहरण गरिएको दुर्घटनाग्रस्त हवाइजहाज अब विपी सङ्ग्रहालयमा राखिने भएको छ । 

क्रान्तिका समयमा विसं २०३० जेठ ३० गते विराटनगरदेखि काठमाडौँका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबिबीको ट्वीनअटर जहाज क्रान्तिका तीन योद्धा बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलले नेपाली काँग्रेसको निर्देशनमा अपहरण गरेका थिए। 

विराटनगरबाट राष्ट्र बैंकको भारु ३० लाख लिएर १४ यात्रीसहित काठमाडौंका लागि उडेको सो जहाजमा सवार ती तीन क्रान्तिकारीले कोसी नदीको माथि जहाज पुगेपछि अपहरण गरी भारतको फारविसगन्जस्थित ब्रिटिस सरकारले दोस्रो विश्वयुद्धका लागि आपतकालीन रुपमा प्रयोग गर्दै आएको घाँसे मैदानमा अवतरण गराएका थिए । 

जहाज अवतरणका लागि सोही स्थानमा रहेका काँग्रेसका तत्कालीन कार्यकर्ता सुशील कोइराला, विनोद अर्याल र मनोहरि बरालले सघाएका थिए। जहाज अवतरणपछि भारु रकम लिएर यात्रुसहित जहाजलाई तत्काल छाडिएको अपहरणमा संलग्न बसन्त भट्टराईले बताए।

अपहरणमा परेको सो जहाज त्यसपछि ४० वर्ष निरन्तर नेपाली आकाशमा उडेर विसं २०७० फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनामा परेको थियो। 

दुर्घटना पश्चात जहाजको भग्नावेश ट्रकमा राखेर नेपालगन्ज राझास्थित नेपाल वायुसेवा निगमको प्राविधिक क्षेत्र परिसरमा रहेको गोदाममा राखिएको छ। 

टुक्राटुक्रा अवस्थामा रहेको जहाजको भग्नावेशलाई जोडेर सग्लो बनाइ विपी सङ्ग्रहालयमा राख्ने सम्पूर्ण तयारी पूरा भइसकेको सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले बताए। 

जहाज लिन सङ्ग्रहालय समितिका अध्यक्ष पोखरेलको नेतृत्वमा यहा आइपुगेको १७ जनाको टोलीले आज बिहान जहाजको स्थान र जहाजको भग्नावेशको अवलोकन समेत गरेको छ। 

अवलोकनमा जहाज अपहरणकर्ता वसन्त भट्टराई, समितिका सदस्यहरू दीपक खड्का, तारिणीदत्त चटौत, दिनेश अर्याल, किरण यादव, कृष्णमुरारी भण्डारी, काँग्रेस बाँकेका अध्यक्ष किरण कोइराला, युवा नेता सुधांशु कोइराला, पत्रकार, काँग्रेसका जिल्लास्तरीय कार्यकर्तालगायतको सहभागिता थियो। 

जहाज हस्तान्तरणपछि भोलि नेपालगन्जस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा समारोहको आयोजना गरी त्यहीबाट ट्रकका लोड गरिएको जहाज काठमाडौँ लगिने जनाइएको छ। 

समितिका अध्यक्ष पोखरेलका अनुसार भग्नावेशका रुपमा रहेको जहाजलाई सग्लो बनाउन करिब रु ६० लाख खर्च लाग्ने प्रारम्भिक बजेट आँकलन गरिएको छ । 

“जनतालाई सर्वोपरी मानेर काँग्रेसले थालेको क्रान्तिका समयमा आपूmलगायतका साथीबाट गरिएको जहाज अपहरण क्रान्तिको माग थियो, यो एकदलीय निरङ्कुश पञ्चायत व्यवस्थालाई कमजोर र क्रान्तिकारी बलियो भएको रणनीतिक योजना थियो’– ६२ वर्ष पूरा गरेका जहाज अपहरणकर्ता भट्टराईको भनाइ थियो। रासस 

माथि प्रयोग गरिएको फोटो फाइल फोटो हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell