PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अपहरणमा संलग्न ​दुई प्रहरीसहित चार जना जेल चलान



रासस

वीरगन्ज : व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ।
 
वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा उनीहरुमाथि कारबाही चलाइएको हो। पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ का भगवान सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो।
 
गत चैत १३ गते चारै जनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरिएको थियो। बिहीबार पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको हो।

व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनीहरुलाई कारागारमा सारिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell