PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

यार्सागुम्बा टिप्न बन्दुक पड्काउने तयारी



रासस

रुकुम (रन्मा मैकोट) : रुकुममा यसपटक बन्दुक पड्काएर यार्सा टिप्ने कामको औपचारिक सुरुवात गरिने भएको छ।
 
यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने भन्दै उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सवको आयोजना गरिँदै छ।
 
जैविक विविधता दिवसको अवसर जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद पुनले जानकारी दिए। महोत्सव आयोजना गरिएको क्षेत्र समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा पर्छ।
 
सदरमुकाम मुसिकोट खलंगाबाट करिब ४२ कोस टाढा रहेको सो क्षेत्रमा पुग्न दुई दिन लाग्छ। सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्ने महोत्सवमा वनमन्त्री अग्निप्रसाद सापकोटा र आपूर्ति मन्त्री गणेशमान पुनको सहभागिता रहनेछ। सोही महोत्सवपछि यो वर्षको यार्सा संकलन कार्यको औपचारिक सुरुवात गरिने संयोजक पुनले बताए।
 
‘हाम्रा स्वयंसेवकले एकैचोटि बन्दुक पड्काएपछि यार्सा टिप्न खुला गरिएको मानिनेछ,’ उनले भने। जेठ ११ गते बन्दुक पड्काइने कार्यक्रम तय गरिएको छ।

यसपटक यार्सालाई नै केन्द्रित गरेर महोत्सव आयोजना गरिएको वन मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख विजयराज पौडेलले बताए।
 
शक्तिवर्द्धक जडिबुटीको रुपमा चिनिएको यार्सागुम्बाको मूल्य गत वर्ष प्रति गोटा एक हजार रुपैयाँ रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell