
काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम घिमिरे (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नायिका रेखा थापाले आर्थिक सहयोग गरेकी छिन्।
धुर्मुस-सुन्तली फाउन्डेसनको कार्यालयमै पुगेर उनले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन्। सहयोग हस्तान्तरण गर्दै उनले धुर्मुस-सुन्तलीले गरेको कामको प्रशंसा गरेकी थिइन्। ‘उहाँहरुले सम्पूर्ण कला जगतको प्रतिनिधित्व गरिरहनुभएको छ,’ रेखाले भनिन्, ‘यो त मेरो सानो सहयोग हो। मेरा थुप्रै फ्यानले सहयोग गर्न आग्रह गरेकाले म यहाँ आएकी हुँ।’
धुर्मुस-सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेको भन्दै उनले अझै राम्रो काम गर्नका शुभेच्छा प्रकट गरेकी छिन्। सहयोग रकम बुझ्दै फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) भनिन्, ‘उहाँले गरेको सहयोग सम्पूर्ण फिल्मी क्षेत्रले गरेको सहयोग र समर्थन हो। यसले हामीलाई अझ हौसला दिएको छ।’
सिन्धुपाल्चोको मेलम्चीस्थित गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनले दसैंअगाडि नै बस्ती हस्तान्तरण गर्ने तयारी गरेको छ। वैशाख १२ गते शिलान्यास गरिए पनि वैशाख २९ देखि निर्माणको काम सुरु भएको थियो।