काठमाडौं : अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वारको रुपमा अगाडि बढिरहेका छन्- डोलाल्ड ट्रम्प। उनै ट्रम्पसँग नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना गरे।
नयाँ वैकल्पिक राजनीतिक शक्तिको रुपमा आफ्नो पार्टी आउन लागेको दाबी गर्दै भट्टराईले दुवैको तुलनाका लागि हिटलरको पनि उदाहरण दिए।
भट्टराईको पार्टीको वैचारिक धरातलमाथि सोधिएको प्रश्नमा उनले अहिलेको राजनीतिक विचारधाराको व्याख्या गरे अनि सुरु गरे ओली र ट्रम्पको तुलना।
हिटलरले पहिलो विश्वयुद्धपछि देखाएको अन्धराष्ट्रवाद अहिले प्रधानमन्त्री केपी शर्मा ओली र डोनाल्ड ट्रम्पले देखाएको उनको भनाइ थियो।
ठ्याक्कै के भने भट्टराईले?
जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा गर्ने जानकारी दिन आज राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उनले दिएको अभिव्यक्तिको सार यस्तो छ :बीसौं शताब्दीका दुई विचारधारा हुन्। एउटा- व्यक्तिको स्वतन्त्रता र व्यक्तिको उन्मुक्ति, स्वतन्त्र बजारमुखी अर्थतन्त्रलाई प्रधानता दिने धार। अर्को- उत्पादनका सबै संयन्त्र राज्यले नियन्त्रणमा लिने र राज्यकै नियन्त्रणमा सामाजवाद निर्माण गर्ने भन्ने राज्यनिर्देशित समाजवादको धार। २१ औं शताब्दीमा आउँदा अहिले यी दुई वटै संकटमा छन्।
नवउदारवादी संकटले डोनाल्ड ट्रम्प ल्याइराखेको छ। अब हाम्रो यहाँ पुरानो राज्यकेन्द्रित समाजवादी अथवा कम्युनिस्ट भन्ने धारले केपी ओली जन्माइराखेको छ।
यी दुई विषय संकटको अभिव्यक्ति हो। उटपट्याङ गरेर जनताको ध्यान अन्यन्त्र मोड्ने र एउटा डरलाग्दो फासीवादी आधार तयार पार्ने काम भइराखेको छ।
जसरी हिटलरले पहिलो विश्वयुद्पछि त्यहाँ आएको संकटमा एउटा अन्धराष्ट्रवादका कुरा गरे। डोलाल्ड ट्रम्पले अहिले मुस्लिमलाई अमेरिका छिर्नै नदिने भन्ने कुरा गरेका छन्, अत्यन्त विकसित देशमा।
हाम्रो पिछडिएको देशमा केपी ओलीजीले ठ्याक्कै त्यसको नक्कल गरिराख्नुभएको छ। यो भनेको संकटको अभिव्यक्ति हो। वैचारिक संकट पनि हो। राजनीतिक संकट हो र आर्थिक संकट पनि।
यसको समाधान गर्ने दृष्टिले नै हामी वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्दै छौं र हाम्रो दस्तावेजमा किटानसाथ राखेका छौं।