काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
राप्रपा नेपालले आज राजधानीमा गरेको ‘स्थानीय निकायको निर्वाचन किन?’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देश र जनताको हितका लागि निर्वाचन अत्यावश्यक रहेको औंल्याए। दलगत स्वार्थभन्दा माथि उठेर यसलाई सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुको सहयोगको अपेक्षा समेत उनले गरेका छन्।
संविधानको धारा ३०३ मा स्पष्ट व्यवस्था भएअनुसार सरकारले आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन घोषणा गरेको उनले स्पष्ट पारे। ‘संविधान निर्माणको नेतृत्व गरेका जिम्मेवार राजनीतिक दलहरुले नै निर्वाचनको विरोध गरेर राष्ट्र, जनता र संविधानप्रति वेइमानी गर्न हुँदैन,’ उनले भने।
स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको लामो समयमा स्रोत र साधनको चरम दुरुपयोग भएको, जनताले स्थानीय निकाय निर्वाचित गर्न पाउने हकबाट वञ्चित भएको तथा भ्रष्टाचार बढेको उनको भनाइ थियो।
संविधानले चाँडोभन्दा चाँडो निर्वाचन गर्न म्यान्डेट दिइसकेको अवस्थामा यो वा त्यो बहानामा निर्वाचन हुन नसक्ने भन्नुभन्दा आगामी कसरी निर्वाचन सम्पन्न गर्ने भनेर बहस गर्नुपर्नेमा उनले जोड दिए।
‘संविधानको विपक्षमा मतदान गरेको पार्टी राप्रपा नेपालले नै यसको कार्यान्वयनमा जोड दिइरहेको अवस्थामा संविधान पक्षधर ठूला दलहरुबाटै निर्वाचनबारे विरोधाभासपूर्ण कुरा आउनु दुःखद हो,’ थापाले भने, ‘तोकिएको समयमा विर्वाचन सम्पन्न गर्न जनदबाब सिर्जनाका लागि राप्रपा नेपालले देशव्यापी कार्यक्रम गर्नेछ।’
कार्यक्रममा स्थानीय निकायका विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय निकायको निर्वाचन नहुँदाको समयमा देखिएका विकृतिबारे बोल्दै भ्रष्टाचार निर्मूल पार्न र विधिको शासन स्थापना गर्नसमेत निर्वाचन अपरिहार्य रहेको बताए।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङदेनले अहिले ३६ वर्ष उमेर पुगिसकेका ७९ लाख बालिग मतदाताहरु आफ्ना प्रतिनिधि चुन्ने अधिकारबाट वञ्चित रहेकाले ६ वर्षअगाडिदेखि नै राप्रपा नेपालले स्थानीय निकाय निर्वाचनको माग गरेको धारणा राखेका थिए।