चार्ली दुःखी थियो। किनभने कनिका उदास थिई। अमरपन्छीको हजार दरको टिकट राखेको पर्स हराएपछि उनीहरु निकै बेरसम्म दुवै जना टुँडिखेल वरिपरि हल्लिएका थिए। कनिकाले आफूलाई हुस्सुको लहरमा उभ्याएकी थिई। अमरपन्छी उडाउने दिन एउटा नेवार परिवारको कुलपूजा रहेछ। आ–आफनो चलन न हो। उनीहरुको चलन रहेछ, टुँडिखेलमा पूजा गरेर भोज खानुपर्ने। भोज खानका लागि एक टुक्रो टुँडिखेल समेत नपाएपछि दिक्क भएको त्यो परिवार टुँडिखेलको बाहिरपट्टि एक छेउमा बसेर भोज खाँदै थियो।
टुँडिखेलमा भोज खाने चलनको ज्ञान पहिलोपल्ट पाएका थिए चार्ली र कनिकाले। सुनेपछि कनिकाले दुई हजारको टिकट हराएको बिर्सिई। तर, क्रोकोडाइलको स्कीनले बनेको त्यो सुलुक्क परेको पर्स बिर्सिन सकिन। कसरी बिर्सिन सक्थी र ऊ। त्यो पर्स उसका लागि निकै मूल्यवान् थियो। उसको ‘एक्स’को गिफ्ट। एक्स उसलाई केही थाहै नदिई युएस गयो। डिभी परेछ मोरालाई। उसले चार्लीलार्ई सुनाएकी थिई, ‘मोराले मलाई भनेर गएको भए के हुन्थ्यो र ? म त्योसँग झुण्डिएर जाने थिइनँ। मजस्ती राम्री गर्लफ्रेण्डलाई छाड्न सक्ने कस्तो झुर मान्छे।’
चार्लीले सोध्यो, ‘त्यसको नामै मोरा हो कि के हो ?’
कनिका तर्सिई, ‘त्यसको नाम त म आफ्नो ओठमा ल्याउँदै ल्याउन्नँ।’
त्यसको भोलिपल्टै नेपालले पानीजहाज किनेर समुद्रमा चलाउने कुरा सुनियो। चार्ली र कनिका पानीजहाज चढ्ने योजना बनाउन लागे। उनीहरुले टाइटानिक सिनेमामा मात्रै देखेका थिए पानीजहाज। उनीहरु पशुपतिनाथको मन्दिरतिर लागे। आकाशमा बादल भए पनि गर्मीले उकुसमुकुस पारेको थियो दुवैलाई। उनीहरु एउटा आइसक्रिम पार्लरमा छिरे। एकएक कोन आइसक्रिम खाएपछि कनिकाले भनी, ‘हामी पानीजहाजमा नै बिहे गरौं न।’
चार्ली हाँस्यो र भन्यो, ‘मलाई त केही फरक पर्दैन। पानीजहाज आउन्जेलसम्म तिमीचाहिँ चाउरिइसकेकी हुन्छेउ।’
कनिकाले हाँसो रोक्न सकिन। मौका छोपेर चार्लीले सेल्फी हान्यो।
उनीहरु पशुपतिनाथ पुग्नपुग्न लाग्दा पानी पर्न थाल्यो। उनीहरु एउटा कफी शपमा पसे। कनिकाले केही सम्झेझैँ गरी र चार्लीलाई सोधी, ‘अमरपन्छीले कति कमाएछ ? तिमी त न्युज हेर्ने मान्छे। एनी आइडिया?’
चार्लीले जवाफ दियो, ‘नो आइडिया। अचेल त न्युज हेर्ने होइन, न्युज हाँस्ने हो।’ चार्लीको जवाफ उच्चस्तरीय थियो। कनिकाले बुझिन र ओठ लेप्य्राई।
चार्लीले भन्यो, ‘यो सेना–पुलिसको कुरा थाहा हुँदैन। कमाइ धेरै भएको भए त शहरभरि त्यसैको चर्चा हुन्थ्यो। थोरै भयो होला। केही बताएनन्।’
अमरपन्छी उडेर गएपछि कान्तिपुरमा सोनाक्षी र मलाइकाको छमछममा राष्ट्रवाद लमतन्न परेर पसारिएको चर्चा चल्यो। सेनाले ती नर्तकीहरुलाई आवश्यकताभन्दा बढी सम्मान दिएकोमा नेपालका महानायक राजेश हमालको चित्त काटियो। सोनाक्षी र मलाइकाको छमछममा ताल मिलाउन पुगेका नेपाली नर्तकीहरुले पनि खुशी मनाएनन्। चार्लीलाई अनुपाले सुनाए अनुसार शो रमाइलो थियो। वातावरण भने रसिलो थिएन।
‘आफनो टिकट हराएपछि शो रसिलो होस् कि विरसिलो, बालै भएन नि,’ चार्लीले भन्यो। कनिकाले रुन्चे अनुहार लगाउँदै भनी, ‘नसम्झ न भन्या। मचाहिँ क्रोकोडाइल बिर्सिन खोज्छु तिमी भने झन् सम्झाउँछौ।’
‘ल अब सम्झाउन्नँ। चार्लीले प्रमिस गर्यो र भन्यो, ‘पानीजहाज त चढ्नैपर्छ। समुद्रसम्म पुग्ने पो कसरी हो ?’
त्यसपछि उनीहरु गुगलमा अलमलिए। गुगलले नेपालबाट नजिकको समुद्र तटको कम्पास चीनतिर तेर्सिएको देखायो। चार्ली छक्क पर्यो।
जलवायु परिवर्तन हुन लागेको त पढेको थियो उसले। त्यो सँगै अब त भूगोल पनि परिवर्तन हुने थालेछ। ऊ दंग पर्यो।
पानी थामिएपछि उनीहरु फर्किए।
अमरपन्छीको स्टेजनिर नेवारहरुको तीन चार परिवार कुलपूजा सकेर भोज खाँदै थिए। छेउमा मोबाइल घन्किदै थियो, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिये...’
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)