PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतले नाकाबन्दी लगाएपछि थन्क्याइएको सामान २८ वर्षदेखि गोदाममै



रासस

धनगढी : सामान्यत: गोदाममा कति समयसम्म सामान राखिएला? सामानको प्रकारअनुसार केही दिन, महिना र बढीमा केही वर्ष!

धनगढीमा भने २८ वर्षदेखि गोदाममा सामान थन्क्याई राखिएको छ। त्यही पनि २०४५ सालको नाकाबन्दीका बेला आयात गरिएका सामान।

नेशनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका हुन्। भारतले नाकाबन्दी लगाएपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेशनल ट्रेडिङको धनगढी कार्यालयमा सामान पठाएको थियो। ती सामान बिक्री-वितरण हुन नसकेपछि गोदाममा थन्किई सडेका हुन्।
 
प्रत्येक आर्थिक वर्षको सुरुमा मौज्दात रहेका सामान र तिनको अवस्थाका बारे फराम भरी केन्द्रीय कार्यालयमा पठाइने गरिन्छ। तर केन्द्रबाट यी सामान लिलाम गर्ने वा नष्ट गर्ने भन्नेबारेमा कुनै निर्णय हुन नसकेको कार्यालयका प्रमुख रामकृष्ण जोशीले बताए।
 
२०४५ को नाकाबन्दीका बेला सुदूरपश्चिमका सबै जिल्लामा रहेका नेशनल ट्रेडिङका डिपोमार्फत विभिन्न मालसामान बिक्री गरी आपूर्तिको व्यवस्था गरिएको थियो। डिपोमा बिक्री नभएका सामान लिमिटेडको धनगढी गोदाममा ल्याई थन्क्याइएको थियो।
 
गोदाममा झन्डै सात/आठ बोरा म्याद नाघेका साबुन, पेन्सिल, जुत्ता, चप्पल लगायतका सामग्री मौज्दात छन्। सर्वसाधारणलाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, मेसिनरी सामान, औद्योगिक कच्चा पदार्थ लगायतका सामान बिक्री वितरण गर्ने जिम्मा लिएको सरकारको पूर्ण स्वामित्वको यो कार्यालयमा वर्षौंदेखि बिक्रीका मालसामान नआएपछि कर्मचारी कामविहीन समेत भएका छन्।
 
पानी तान्न प्रयोग हुने मोटर बाहेकका अरु सामान नहुँदा वर्षौंदेखि कार्यालयका चार जना कर्मचारी कामविहीन हुनुपरेको कार्यालयका प्रमुख जोशीले बताए।
 
कारोबार नहुने देखिएपछि कार्यालयसँग रहेको झन्डै १६ हजार बोरा अटाउने क्षमताको गोदाम साल्ट ट्रेडिङ कर्पोरेशनलाई भाडामा दिइएको छ। धातुका पाटपुर्जाले बनेको कार्यालयको गोदाम पनि समयमै मर्मत र सम्भार हुन नसक्दा चुहिने भई जीर्ण बन्दै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell