PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रपतिले भनिन्- 'लुम्बिनी बुद्ध दर्शनको मुहान'



रासस

राष्ट्रपतिले भनिन्- 'लुम्बिनी बुद्ध दर्शनको मुहान'

लुम्बिनी : राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको मुहानसमेत रहेको बताएकी छिन्।
 
२५६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको भन्दै बुद्ध भूमिका कला र ऐतिहासिक सामग्री संरक्षणमा ध्यान दिन सरकार र अन्य निकायलाई आग्रह गरिन्।

बृहत् लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो।
 
राष्ट्रपति भण्डारीले विश्वका बौद्ध धर्म मान्नेका लागि पावनभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्ने बताएका छन्। लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिने उनको प्रतिबद्धता छ।
 
सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको भन्दै उनले विश्वलाई एउटै सूत्रमा बाँध्न सकिने ‘ग्लोबल बुद्धिस्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकोमा खुसी व्यक्त गरे। ‘बुद्ध जयन्ती वा अन्य अवसरमा कार्यक्रम सञ्चालन गर्न पाँच हजार मानिस बस्न सक्ने भवन एक वर्षभित्र निर्माण गरिनेछ,’ उनको प्रतिबद्धतासमेत जनाए।

समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भगवान् गौतम बुद्धले विश्वमाझ ज्ञान फैलाउन महत्वपूर्ण कार्य गरेको चर्चा गरे। लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो।
 
यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राखे। ‘२५६० वर्षपहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको छ,’ उनले भने।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीसहित बुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एकसाथ विकास गरिने प्रतिबद्धता जनाए।
 
सो अवसरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरुन, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो।
 
दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले निकालेको निष्कर्षसहितको १० बुँदे काठमाडौँ–लुम्बिनी घोषणापत्र संस्कृतिमन्त्री पोखरेलले आजै सार्वजनिक गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell