- कृष्ण ओली -
बुधबार राति क्रसर उद्योगमा लैजानका लागि स्काभेटरबाट लोड गर्दै गरेको अवस्थामा उक्त सवारी साधन सहित चालक र सह–चालक पक्राउ परेका हुन्। महादेवपुरी २ बुच्चापुरमा रहेको झिझिरी खोलामा क्रसर उद्योग रहेको छ। उक्त स्थान बाँके राष्ट्रिय निकुञ्ज अन्तरगतको ढकेरी मध्यवर्ती क्षेत्रभित्र पर्दछ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश काफ्लेले मध्यरातमा खोलामा स्काभेटर लगाएर बालुवा, ढुङ्गा र गिट्टी लोड गर्दागर्दै क्रेसर उद्योगका सवारी साधन नियन्त्रणमा लिइएको बताए। पक्राउ परेकामा भे ४ ख २५७० नम्बरको टिपर, भे १ त ६९६५, भे १ त ६९६९ नम्बरको ट्याक्टर र २ ओटा स्काभेटर रहेको छ।
पक्राउ परेका एक चालकका अनुसार क्रेसर उद्योगका सञ्चालक दीपक खड्काको निर्देशनमा आफूहरु खोलामा पुगेको बताए। उनले भने,– ‘अरु दिनजस्तै उहाँकै निर्देशनमा माल लोड खोलामा आएका हौं।‘
चालकका अनुसार हरेक दिन रातमा स्काभेटर प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी क्रसर उद्योगसम्म पुर्याउने गरिएको थियो। सञ्चालक खड्काले भने उक्त आरोप स्वीकारेनन्। उनले उक्त सवारीसाधनहरु अर्केलाई भाडामा दिएको र उसैले नै खोलामा प्रयोग गरेको भन्दै पन्छिए। प्रहरीले आवश्यक कारबाहीका लागि चालक, सह–चालक र सवारी साधनलाई जिल्ला वन कार्यालय बाँकेको जिम्मा लगाएको छ।
जिल्ला वन कार्यालय बाँकेका वन अधिकृत पुष्प राज बर्तौलाले पक्राउ परेका चालकलाई वन ऐन अनुसार कारबाही गरिने बताए। जिल्ला विकास समिति बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुषालले खोलामा स्काभेटर लगेर ढुङ्गा गिट्टी उत्खनन गर्न नपाइने बताउँदै जिल्ला वनसँग समन्वय गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताए। मध्यवर्ती क्षेत्रभित्र क्रसर उद्योग सञ्चालनमा भए पनि निकुञ्जका प्रमुख, मध्यवर्ती समितिका अध्यक्ष र वन कार्यालयका कर्मचारी लगायतलाई मिलाएर लामो समयदेखि धन्दा चलिरहेको ढकेरीका एक स्थानीयले जानकारी दिए।