काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको एउटा राष्ट्रव्यापी सर्वेक्षणले यौनजन्य हिंसा हुने चिन्ता सप्तरी जिल्लाका बासिन्दालाई सबभन्दा बढी रहेको र कास्की जिल्लाका बासिन्दालाई सबभन्दा कम रहेको देखाएको छ।
हिमाल पहाड तराई र काठमाडौँ उपत्यका लगायतका १० जिल्लाका ५० वटा गाविस र नगरपालिकालाई आधार मानेर गरिएको अपराधसम्बन्धी बेसलाइन सर्वेक्षण प्रतिवेदनमा उत्तरदातालाई आफू वा आफ्नो परिवारका सदस्य माथि यौनजन्य हिंसा हुनसक्छ भनी कत्तिको चिन्तित हुनुहुन्छ भनी सोधिएकोमा उत्तरदातामध्ये झन्डै आधा (४७.२ प्रतिशत) ले सामान्य रुपमा चिन्तित रहेको बताए भने ३४.३ प्रतिशतले कुनै चिन्ता नरहेको बताए।
धेरै चिन्तित रहेको भन्ने जवाफ दिने १८ प्रतिशत थिए। धेरै चिन्तित हुनेमध्ये सबभन्दा बढी ४३.५ प्रतिशत सप्तरीका बासिन्दा छन् भने सबभन्दा कम चिन्तित अर्थात् कुनै चिन्ता छैन भन्नेमा कास्की ५७.४ प्रतिशत पछाडि काठमाडौँ ५४.३ प्रतिशत रहेको छ।
धेरै चिन्तित हुनेमा सप्तरीपछि बाँके (३८.९) र पर्सा (३०.६) र बझाङ (२४) छन्।
कुनै चिन्ता छैन भन्नेमा कास्की र काठमाडौँपछि सिन्धुपाल्चोक (४५.४), ताप्लेजुङ (३७.३) र बझाङ (३५.६) छन्।