काठमाडौं : भारत कोलकाताका चार जना आरोहीले शनिबार बिहान सगरमाथाको आरोहण गर्दा अरु तीन जना भने ८ हजार मिटर भन्दा माथिको डेथ जोन क्षेत्रबाट सम्पर्क बिहीन भएका छन्।
यो खबर आरोही राजीव भट्टाचार्यको सातौं अग्लो हिमाल धौलागिरीबाट खसेर मृत्यु भएको भोलीपल्ट आएको हो।
कोलकाताका रमेश रोय, मलाय मुखर्जी, सत्यरुप सिद्धान्त र रुद्रप्रसाद हल्दर शनिबार बिहान ५:४० मा सर्वोच्च शिखर सगरमाथामा पुगेर साँझमा चौथो आधार शिवरमा फर्किएका छन्।
तर सुनिता हज्रा, गौतम घोष र प्रकाश नाथ भने शुक्रबार बेलुकादेखि सम्पर्कविहीन भएका टाइम्स अफ इन्डियाले जनाएको छ। शुक्रबार बेलुकी साढे ७ बजे उनीहरु शिखरतिर जानुअघिमात्र सम्पर्कमा थिए। ' हामीले उनीहरुबारे केही पनि थाका पाएका छैनौं' सुनिताका श्रीमान सुदेव हज्राले भने। सगरमाथा आरोहणका लागि गएका यी दुई समूह छुट्छुट्टै एजेन्सी मार्फत गएका थिए।
सगरमाथा आरोहण गरेर फर्केको टोली सेभेन समिट एजेन्सी मार्फत गएका थिए। यसका सञ्चालक मिङ्मा शेर्पाले आरोहण टोली शनिबार साँझ ७:५० बजे चौथो आधार शिविरमा आइपुगेको पुष्टी गरेका छन्। रमेश, सत्यरुप,मलाय र रुद्रप्रसादको परिवार र साथीहरुले खुशियाली मनाइरहेका छन्।
सम्पर्कबिहीन भएकाहरु भने दार्जलिङको लोबेन एक्सपिडिसन मार्फत गएका थिए। आफन्त र साथीहरुले उनीहरुको खोजी प्रयास सुरु गरेका छन्। चौथो आधार शिविरदेखि केही माथि ल्होत्से र सगरमाथा छुट्याउने विन्दु करिब ८ हजार मिटर अग्लो छ। यसलाई आरोहीहरुले डेथ जोन नाम दिएका छन्।
सगरमाथाको आधार शिविरमा कोलकाताका ८ जना चुचुरो पुग्ने दिनको प्रतिक्षामा छन्। उनीहरुको स्वास्थ्य राम्रो छ।