PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अमेरिकामा नातिको पास्‍नी सकेर फर्केका पौडेलको अभियान : राजनीतिक शुद्धिकरण कि गुटको भेला?



रमेश वाग्ले

अमेरिकामा नातिको पास्‍नी सकेर फर्केका पौडेलको अभियान : राजनीतिक शुद्धिकरण कि गुटको भेला?

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १२औं महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए - 'राजनीति बद्‍नाम भयो। राजनीति सबैभन्दा घृणाको क्षेत्र भयो। त्यसैले कहिलेकही त आत्महत्या गरौजस्तो लाग्छ।'

त्यतिबेला पौडेलको भनाइलाई सकारात्मक र नकारात्मक रुपले विश्लेषण र टिप्पणीहरु भए। उनले राजनीतिप्रति जनतामा देखिएको वितृष्णासहित छ वटा कारणाहरु दिएका थिए जसमार्फत् उनले सर्वसाधारणको दृष्टिकोणमा सुधार ल्याउने अभियान पनि घोषणा गरेका थिए।

उनको घोषणामा कांग्रेसका करिब ३३ सय महाधिवेशन प्रतिनिधिहरुले आकर्षक मुद्दा मानेनन् र उनले महाधिवेशनबाट सभापति पदमा नमिठो पराजय पनि भोगे। त्यसपछि सामान्य भेटघाट चियापान सकेर नातिको पास्‍नीका लागि अमेरिकातर्फ लागेका पौडेले केही दिनअघि मात्र स्वदेश फर्किए।

पास्‍नी भ्याएर मुलुक फर्केका नेता पौडेलले आफ्नो मुद्दालाई फेरि उठाउने प्रयास गरे तर उनको प्रयासमाथि  प्रश्न चिन्ह खडा भयो। 

पौडेलले राजनीतिलाई कसरी सम्मानित गर्न सकिन्छ?’ भनेर देशव्यापी अभियान सुरु गर्ने कार्यक्रमको जोहो गरेको थियो ‘सामाजिक लोकतन्त्र अध्ययन केन्द्र’ले।


कांग्रेसले मनाउन सुरु गरेको समता दिवस पारेर पौडेलको अभियानलाई अघि बढाउने साइत एकैदिनलाई जुरायो केन्द्रले। अभियानको थालनी आउँदो जेठ ११ गतेबाट सुरु हुँदैछ।

पौडेलको अभियानमा सबैभन्दा ठूलो खोट देखियो - त्यो हो गुटको राजनीति। उनको अभियानको पहिलो कार्यक्रमका वक्ताहरु नै पौडेल गुटबाहिरका रहेनछन्।

प्रमुख वक्ताहरुको सूची यस्तो छ - रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, सीतादेवी यादव, निलाम्बर आचार्य र प्राध्यापक कृष्ण खनाल। पौडेलले हारपछि पनि आफ्नो घोषणा अनुरुपको अभियान थाल्नु आफैमा सकारात्मक होला तर उनको घोषणा र अभियानको गरिमालाई भने गुटको राजनीतिक छाँयाले ओझेलमा पारेको छ।

सच्याउन निर्देशन

पौडेलका सहयोगि चिरञ्जीवी अधिकारीले वक्ताहरुको नाम यसरी अघि सार्ने हो भने राम्रो सन्देश नजाने भन्दै सच्याउन भनेका छन्। उनको कुरोअनुसार काम हुने हो भने निम्तामा तोकिएका वक्ताहरुको नाम नै फेरिनसक्छ।

‘वक्ताहरुको सूचीमा उहाँले असन्तुष्टि जनाउँदै एउटा पक्षका मात्र नहुने गरी सच्याउन निर्देशन दिइससक्नुभएको छ,’ अधिकारीले भने, ’कार्यक्रम अघि नै त्यो सूची परिवर्तन हुन्छ र दुवैपक्षका वक्तासहित त्यो अभियान नेपाली कांग्रेसको अभियानकै रुपमा देशव्यापी संचालन हुन्छ।’
 
समाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष गणेशचन्द्र अधिकारीले राजनीतिमा निष्ठा भन्दा मनी मसल्स (पैसा र बल) को प्रयोग रोक्न पनि अभियान जरुरी रहेको बताए। ‘रामचन्द्रजीले १३औं महाधिवेशन उद्घाटनका क्रममा पनि राजनीति मर्यादा नहुँदाको चिन्ता व्यक्त गर्नुभएको थियो,’ अधिकारीले भने, ’त्यसपछि पनि निरन्तरको उहाँको चिन्ताले हामी यो अभियान संचालन गर्ने तयारीमा जुटेका हौं।’

उनले बीपी कोइरालाले पाँचौ अधिवेशनबाट नै समता दिवस कांग्रेसले मनाउने निर्णय गरे पनि त्यो अभियान दलितसंघको मात्र अभियानका रुपमा सीमित भएको बताए।

‘बीपी कोइरालले त अभियान थाल्‍दा नै धनमानसिंह परियारलाई महामन्त्री बनाउनुभएको थियो,’ उनले भने, ’हामीले त्यो निर्णयलाई निरन्तरता दियौं तर काममा भने त्यसो हुन सकेन।’ उनले अबका दिनमा जनस्तरमै त्यो अभियान पुर्‍याउन पनि समता दिवशबाटै राजनीतिक क्षेत्रलाई मर्यादित र सम्मानित बनाउने अभियान थालिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell