चितवन : भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार तीव्र गतिमा बढाइएको निर्माण कम्पनीले जनाएको छ।
ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए समय थप गरी २०७४ भदौमा सम्पन्न गर्ने सम्झौता गरिएको थियो।
पछिल्लो सम्झौताको लक्ष्यअनुरुप काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए। उनका अनुसार हालसम्म २१ प्रतिशत काम सम्पन्न भइसकेको छ। यही गतिमा काम भइरहे समयमै सकिने उनको भनाइ छ।
२०७२ वैशाखबाट निर्माण कार्य थालिएको हो। काम थालेको आठ महिनामा १५ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा आठ प्रतिशतमात्र भएको थियो।
माघ २८ गतेबाट दिउँसो ११ बजेदेखि ३ बजेसम्म सडकको आवागमन रोकेर काम भइरहेको छ। सडक फराकिलो बनाउन पहाड काटिएकाले हल्का पानी पर्नासाथै पहिरो खस्ने समस्या रहेको खनालले बताए।
यतिखेर मुख्य जटिल क्षेत्र भनिएको भरतपुरबाट २७ किलोमिटर दुरीको जलवीरेदेखि ३२ किलोमिटर दुरीको कालीखोलासम्म पाँच किलोमिटर भागमा पहाड फोड्ने काम भइरहेको छ। पानीले समस्या नपारे जेठ महिनाभर सडक रोकेर काम गर्ने लक्ष्य राखिएको छ।
विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो। एसियन हाइवे अन्तर्गतको ए एच ४ टु खण्डअन्तर्गत नारायणगढ-मुग्लिन सडक खण्ड पर्दछ। इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।
राससको सहयोगमा