PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

दाना बनाउन १ अर्ब रुपैयाँको लगानी, सुरु भयो उत्पादन



पहिलोपोस्ट

दाना बनाउन १ अर्ब रुपैयाँको लगानी, सुरु भयो उत्पादन

काठमाडौं : चितवनमा एक अर्बको लगानीमा स्थापना भएको दाना उद्योगबाट उत्पादन सुरु भएको छ। विश्वकै उत्कृष्ट मेसिनसहितको दाना उद्योग नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग चलाइरहेको अविनाश समूह र भारतको पोल्ट्री उद्योगमा अग्रणी मानिने स्काई लार्क समूहको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो।
 
यो उद्योगले तीन दिन अघिदेखि उत्पादन सुरु गरेको हो। अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्टले  परीक्षण उत्पादन सुरु भएको बताए। 'हामीले तीन दिन अघिदेखि उत्पादन सुरु गरेका हौं। एक महिनासम्म परीक्षण उत्पादन हुन्छ,' उनले भने,  परीक्षण उत्पादनपछि हामी व्यवसायिक रुपमा उत्पादन थाल्नेछौं। विष्टले गुणस्तरीय दाना उत्पादन गरेर बजार पुर्‍याउने लक्ष्य राखेको बताउँदै दानाको एग्रेसिभ मार्केटिङमा जाने बताए।
 
उद्योगको मेसिनरी र जग्गाका लागि पचास करोड र कच्चा पदार्थ लगायतका लागि पचास करोड रुपैयाँ लगानी भएको छ। अध्यक्ष विष्टका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा ठूलो लगानी आवश्यक पर्छ। ‘उद्योगको जग्गा र मेसिनरीको लागि ५० करोड लगानी भएको छ। दाना उद्योगमा सबैभन्दा ठूलो लगानी हुने कच्चा पदार्थमा पनि हो यसमा हाम्रो झन्डै पचास करोड लगानी भएको छ,’ उनले भने।
 
लेयर्स, वोइलरका लागि आवश्यक पर्ने दाना यो उद्योगबाट उत्पादन हुनेछ। उद्योगबाट उत्पादन हुने दानाको बजारका लागि समस्या छैन। अविनाश समूहका अत्याधुनिक दुई वटा पोल्ट्री उद्योग छन्। ती उद्योगमा रहेका कुखुराका लागि आवश्यक पर्ने दानाको माग स्काईलार्क दाना उद्योगले धान्छ।

‘हाम्रो दाना उद्योगका लागि बजार स्थापितनै छ। हामीसँग दुई वटा अत्याधुनिक पोल्ट्री फार्म छन्,’ उनले भने, ‘ती दुई वटा फार्मका लागि आवश्यक दाना यो उद्योगबाट उत्पादन हुन्छ।’ सुरुवातमा यो उद्योगबाट घन्टाको दश टन दाना उत्पादन हुन्छ।
 
विष्टले छिट्टै उद्योगको क्षमता तीस टन बनाउने योजना रहेको जानकारी दिए। थप उत्पादन भएपछि आफ्नो फार्ममा खपत भएर बाँकी रहेको दाना बजारमा बिक्री गर्ने पनि उनले बताए।‘हामीले अहिले घन्टाको १० टन मात्रै उत्पादन गर्न थालेका हौं। तर केही समयपछि घन्टाको ३० टन उत्पादन थाल्नेछौ,’ उनले भने, ‘३० टन उत्पादन गरेपछि हामी बजारमा राम्रो प्लेयरको रुपमा स्थापित हुन्छौं।’ भूकम्प र नाकाबन्दीले दाना उद्योग संचालनमा आउन एक वर्ष ढिला भएको हो। यो समूहमा स्काईलार्कको ५१ प्रतिशत, अविनाश समूहको २४ प्रतिशत लगानी छ। बाँकी हिस्सामा पनि अन्य नेपालीले लगानी गरेका छन्। घन्टाको ३० टन दाना उत्पादन गर्ने तीन वटा उद्योग मात्रै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell