PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पाँच जनाको ज्यान लिने पहिरोको त्रास कायमै, आतंकित व्यापारीको बास ओडारमा



रासस

पाँच जनाको ज्यान लिने पहिरोको त्रास कायमै, आतंकित व्यापारीको बास ओडारमा

कालिकोट : तीन दिनअघि आएको पहिरोले पाँच जनाको ज्यानमात्रै लिएन, दुई जनालाई बेपत्ता नै बनाइदियो। पाँच जना अहिले अस्पतालमा उपचार गराइरहेका छन्।

ठूलो दुर्घटना निम्त्याउँदै पहिरो आयो र सर्वस्व सोहोरेर लग्यो। पानी पर्नासाथै अहिले पनि स्थानीयमा त्रासको मात्रा उत्ति नै छ। फेरि उस्तै पहिरो आएर बाँकीलाई समेत सोहोरेर लैजाने त होइन?

गएको शुक्रबार कोटवाडा गाविसको लालिघाटस्थित गेजबजारमा आएको पहिरोको त्रासले यहाँका बासिन्दाको रात अनिँदोमै बित्ने गरेको छ। कालो बादल मडारिनासाथ ओडारमा बास बस्नुपर्ने यहाँका व्यवसायीको बाध्यता छ।

‘तीन दिनदेखि हामी रातको समयमा पसल छाडेर ओडारमा बास बस्न थालेका छौं,’ स्थानीय व्यापारी भीमबहादुर ऐडीले बताए।

बेपत्ताको खोजीका लागि प्रहरी, नेपाली सेना, रेडक्रस तथा स्थानीयवासी लागिपरे पनि फेला पार्न सकिएको छैन। प्रहरीको मुचुल्काअनुसार करिब २० करोडको क्षति भएको छ।

बजार स्थानान्तरणका लागि ठाउँ नहुनु र पछाडि सार्नका लागि कर्णाली नदीमा पुल नबन्नु थप समस्या देखिएको छ।
 
यसअघि लालिघाट बजारमा जितेबजारबाट भरिया लगाएर सामान ढुवानी हुँदै आएको थियो। यातायात सुविधा नभएका कारण मुख्य व्यापारी केन्द्र रहेको लालिघाट बजारमा अहिले सामान लैजानका लागि कठिनाइ आएको छ।

जिल्लाका १७ गाविस, मुगु र बाजुराका लागि प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुँदै आएको लालिघाट बजारका व्यापारी वैकल्पिक बजार स्थलका लागि खोजी गरिरहेका छन्। अधिकांश व्यवसायी भने व्यापार छाड्ने मनस्थितिमा छन्। पहिरोले ज्यान लिएका घरपरिवार रित्तो हात घर फर्किएका छन्।
 
पहिरोका पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समिति कालिकोटले प्रतिमृतक परिवार ४० हजार राहत दिने र घाइतेको उपचार गर्ने प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए।

एक साताअघि जिल्लाको भर्ता गाविस र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु हुनुको साथै दुई जना घाइते भएका थिए। ५० लाखभन्दा बढीको क्षति भएको थियो।
(फोटो : aajavoli.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell