PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेसको उछितो काढेपछि बाबुरामको प्रश्न- ‘सर्वहाराका नाममा महल ठड्याउने कसरी कम्युनिस्ट?'



रमेश वाग्ले

कांग्रेसको उछितो काढेपछि बाबुरामको प्रश्न- ‘सर्वहाराका नाममा महल ठड्याउने कसरी कम्युनिस्ट?'

काठमाडौं :  नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले १० वर्षमा गरिबी उन्मूलन गर्ने र ३० वर्षमा पहिलो विश्वका मुलुकसरह नेपाललाई पुर्‍याउने पुरानै योजना दोहोर्‍याएका छन्।
 
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा नवप्रवेशी करिब दुई सय कार्यकर्तालाई सपथ खुवाउँदै उनले आफू ०६५ सालमा अर्थमन्त्री र ०६८ सालमा प्रधानमन्त्री हुँदा सार्वजनिक गरेकै योजना सुनाएका हुन्। १५ देखि २० वर्षमा देशलाई मध्यमस्तरमा पुर्‍याउने लगायतका योजना उनले त्यस बेलै सार्वजनिक गरिसकेका थिए।
 
‘म १८ वर्ष पुगेको नागरिक हुँ। म नेपालको समृद्धि र परिवर्तप्रति अग्रसर छु। स्वाधीन, समावेशी र समृद्ध नेपाल मेरो प्रतिबद्धता हो’ लगायतका वाक्यांश पढेर उनले नयाँ कार्यकर्तालाई सपथ ग्रहण गराएका थिए।
 
‘मरेपछिको स्वर्ग’का पक्षमा नरहेको भन्दै उनले आफ्नै जीवनकालमा समृद्ध नेपाल हेर्न नयाँ शक्ति स्थापना गर्न लागेको प्रस्ट्याए। ‘विश्वका धेरै राष्ट्र आर्थिक प्रगतिबाट विकासको चुचुरोमा पुगेका छन्,’ उनले भने, ‘नेपालमा भने विश्वको सर्वोच्च शिखरमा विदेशीलाई मात्र पुर्‍याउने र आफू भने पिँडीमै अल्झने विडम्बना छ।’
 
नयाँ शक्ति एउटा नयाँ राजनीतिक दलमात्र नभएर नेपालको क्षेत्रीय, जातीय र लिंगीय विभेदको अन्त्य गर्न स्थापित शक्ति पनि भएको उनको दाबी छ।
 
'हामी अहिलेका राजनीतिक शक्तिजस्तै नयाँ राजनीतिक दल होइनौं, त्यसो भएको भए निर्वाचन आयोगमा दर्ता भएका १ सय ८० दल नै पर्याप्त हुन्थे,' भट्टराईले भने, 'हामी राजनीतिक भ्रष्टाचारको दलदलबाट देशलाई बाहिर निकाल्ने नयाँ वैकल्पिक शक्ति हौं।' त्यति भनेर उनले अहिले भएका मुख्य राजनीतिक दलहरुकै कारण देश अप्ठेरोमा रहेको बताए। अहिलेका प्रमुख दलहरुको काम गराइकै कारण दक्षिणको नाकाबन्दी र उत्तरको हिमाली हुँकार सहनुपरेको उनको भनाइ छ।
 
'हाम्रो देश उत्तर र दक्षिणका ठूला अर्थतन्त्र र भूगोल भएका देशको बीचमा छ, दुवैसँग समानस्तरको सम्बन्ध राखेर अगाडि बढ्नुपर्छ,’ उनले भने, 'जर्मनी, फ्रान्स र इटलीको बीचमा रहेको स्विटजरल्यान्ड जस्तै नेपालको पनि प्रगति गर्न सकिन्छ।’
 
नयाँ शक्तिको औचित्य प्रस्ट पारिरहँदा उनले अरु दलको आलोचना गर्न भने भुलेनन्। 'व्यक्तिगत स्वतन्त्रका नाममा सबैलाई छाडा छोड्ने कांग्रेसको उदारवादी नीतिका कारण भ्रष्टाचार मौलाएको छ,' उनको आरोप थियो, 'सर्वहाराका नाममा महल ठड्याउनेहरु कसरी कम्युनिस्ट हुन सक्छन्?' उनले सर्वहाराका नाममा महल ठड्याउनेहरुलाई नक्कली कम्युनिस्टको संज्ञा दिए।
 
नवप्रवेशीहरु लुम्बिनी विश्वविद्यालयका शिक्षाध्यक्ष डा. केदार शाक्य, डा. चुन्दा बज्राचार्य र सोनामछिरिङ शेर्पाले पनि कार्यक्रममा सम्बोधन गरेका थिए।
 
पाँच सयभन्दा धेरै कम कार्यकर्ता सहभागी रहे पनि भट्टराईले फेसबुक र ट्वीटरमा ‘पाँच सयभन्दा बढी अभियन्तालाई हार्दिक बधाई तथा स्वागत’ भन्दै पोस्ट गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell