
बिबिसी : इंगलिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक लुइस भान हाललाई सोमबार बर्खास्त गरेको छ। तीन वर्षका लागि म्यान यु आएका डच नागरिक भान हाललाई एक वर्षअघि नै बर्खास्त गरेको हो।
म्यान यु को नयाँ प्रशिक्षकको रुपमा जोस माउरिन्हो आउने पक्का भइसकेको छ। उनको नियुक्ति मंगलबार उनले म्यान यु को उच्च अधिकारीसँग भेटेपछि हुनेछ।
भान हालको बर्खास्तीपछि उनका सहयोगी रेन गिग्सको अवस्था के हुने अहिलेसम्म यकिन छैन। गएको शनिबार क्रिस्टल प्यालेसलाई हराउँदै म्यान यु ले एफए कपको उपाधि जितेको खेल नै भान हालको लागि इंगलिस क्लबबाट अन्तिम खेल बन्यो। उनले दुई वर्षको अवधिमा म्यान यु लाई जिताएको यो नै पहिलो उपाधि हो।
अघिल्लो सिजनमा भान हालले म्यान युलाई प्रिमियर लिगको चौथो स्थानमा सिमित गरेका थिए। तर यसवर्ष म्यान यु पाँचौं स्थानमा रहनुपर्यो जसले गर्दा च्याम्पियन्स लिग पनि खेल्न पाएन। म्यान यु ले यसवर्ष जम्मा ४९ गोलमात्र गर्न सक्यो जुन सन् १९८९- ९० यताकै सबैभन्दा कम हो।
२५ वर्षको प्रशिक्षण करिअरमा भान हालले तीन देशको लिग उपाधि जिताएका छन्। उनले आफ्नो देश नेदरल्याण्डसमा अजाक्स र एज एल्कमारलाई, स्पेनमा बार्सिलोनालाई र जर्मनीमा बायर्न म्युनिखलाई उपाधि जिताएका छन्।
भान हालले सन् २०१४ को विश्वकपमा नेदरल्याण्डसलाई तेश्रो स्थान दिलाएका थिए।