काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी लिने तर सत्ताका लागि राजनीति नगर्ने बताएका छन्। कांग्रेस रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पौडेलले संविधान कार्यान्वनका लागि कांग्रेसलाई सत्ता आवश्यक नहुने बताए।
'संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधान कार्यान्वयनको पनि जिम्मेवारी लिनुपर्छ,' पौडेलले भने, 'संविधानसभा कांग्रेसले संकल्प गरेको बिषय हो। संविधानले पनि कांग्रेसले आत्मसात गरेको आदर्श र सिद्धान्त स्वीकार गरेको छ।' त्यसैकारण पनि कांग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी लिने बताए।
पौडेलले कांग्रेसले नै संसदीय प्रजातान्त्रिक व्यवस्थामा कम्युनिस्ट पार्टीहरुलाई सहमत गराएको दाबी गरेका छन्। 'वर्तमान संविधानले सबैको बराबरी अधिकारको ग्यारेन्टी गरेको छ,' उनले भने।
'राजनीतिलाई सम्मानित क्षेत्र बनाउन' पौडेलको दौडधूप
पौडेलले राजनीतिक दलका नेताहरुको मुख्य जिम्मेवारी भनेको 'राजनीतिलाई सम्मानित क्षेत्र बनाउने' भएको भन्दै 'पैसा र पाखुरा'ले मात्र अब राजनीति नचल्ने बताए।'कांग्रेसको सिद्धान्तको सधैं जित हुने तर कांग्रेस किन पछि पर्छ?' पौडेलले प्रश्न गर्दै भने, 'यो विषयको अब कांग्रेसले खोजी गर्न जरुरी छ।' कांग्रेसको १३औं महाधिवेशनले उद्घोष गरेको राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ भन्ने अभियान देशव्यापी बनाउन उनी अहिले तयारीमा जुटिरहेका छन्।
तीन दिनअघि मात्र अमेरिकाबाट फर्किएका पौडेल समता दिवसका अवसरमा अभियानकै लागि नवलपरासी पुगेका हुन्। उनको प्रशिक्षणको मुख्य विषय नै राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो।
वरिष्ठ नेता पौडेलले १३औं महाधिवेशन उद्घाटन समारोहमा नै राजनीतिप्रति सर्वसाधारणको वितृष्णा देख्दा आफूलाई 'आत्महत्या गरौं गरौ' लाग्ने गरेको बताएका थिए।